• १५ वैशाख २०८१, शनिबार

होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्छः अध्यक्ष ओली

blog

काठमाडौं, चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ । ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा आज मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । 

“होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उहाँले भन्नुभयो,  “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल थपोस । त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।”

अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने र  होलीका नाममा देखिएको अनुचित पक्षलार्ई रोक्नुपर्ने बताउनुभयो । उहाँले होलीलाई सामाजिक मर्यादाभित्र रहेर खेल्नुपर्ने भन्दै कसैलाई जबरजस्ती रङ्ग दल्न नहुने उल्लेख गर्नुभयो । “अरुमाथि आघात नपर्ने, सामाजिक सुसम्बन्धमा खलल नपर्ने कुरामा ध्यान दिनुपर्दछ । अरुको स्वतन्त्रमा खलल नपर्ने गरी आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्दछ । इच्छा विपरीत रमाइलो हुँदैन”, उहाँले भन्नुभयो । 

सो अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री एवं भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरि उप्रेतीलगायतको उपस्थिति थियो । कार्यक्रममा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले होली खोल्नुभएको थियो ।