• १३ साउन २०८१, आइतबार

पुलको लम्बाई बढाउन माग

blog

सिधनिया घाटमा पुल निर्माणको स्थलगत अनुगमन गर्दै उच्चस्तरीय टोली। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १० गते। बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटमा निर्माण सुरु गरिएको पुलको लम्बाई बढाउन माग गरिएको छ। 

नेपालगन्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा निर्माण सुरु गरिएको सात सय मिटर लामो पुलको निर्माणको अवस्था बुझ्न निर्माणस्थलमा पुगेको सडक विभागको उच्चस्तरीय टोलीसमक्ष सो माग गरिएको हो। 

सिधनिया घाटमा निर्माण सुरु गरिएको सात सय मिटर लामो पुलको निर्माणबाट पनि समस्या समाधान नहुने हुँदा सो स्थानमा ११ सय ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने माग सडक विभागका उप महानिर्देशक रामहरि पोखरेल नेतृत्वको टोलीसँग गरिएको बाँकेका प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बताउनुभयो। 

राप्ती नदीको सिधनिया घाटमा हाल निर्माण भइरहेको सो पुल सात सय मिटर लामो, ११ मिटर चौडा रहने तथा दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ।

अनुगमन टोलीमा सडक विभागका उप महानिर्देशक पोखरेलसहित हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारी र निवर्तमान सहरी विकास मन्त्री केसीलगायत रहनुभएको थियो।  

करिब डेढ वर्ष अघि भौतिक पूर्वाधार मन्त्री बन्नु भएको बेला बाँकेका पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माणसँगै डुडुवा खोलामा पुल निर्माण र विभिन्न सडक निर्माणको योजना स्वीकृत गर्नुभएको थियो। सोही योजना अनुसार पुल निर्माण कार्य अहिले सुरु गरिएको निर्माण कम्पनी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले जनाएको छ।