• १३ साउन २०८१, आइतबार

पूर्व मुख्यमन्त्रीको टोलीद्वारा सडक निरीक्षण

blog

लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लीला गिरी ।

लुम्बिनी, चैत १० गते । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीको टोलीले बेलबास-बेथरी-मर्चवार-खैराघाट सडकअन्तर्गत गुरवनिया–मर्यादपुर सडक खण्ड निर्माण कार्यको निरीक्षण गरेको छ । निर्माण अलपत्र रहेको उक्त सडक खण्डको पूर्व मुख्यमन्त्री गिरीको टोलीले स्थलगत रूपमा मर्चवार पुगेर निरीक्षण गरेको हो । 

स्थलगत निरीक्षणपश्चात् गिरीले मर्चवार क्षेत्रको सडक विस्तारका लागि सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताउनुभयो । उहाँले मर्चवारको समृद्धिको मुख्य आधारका रूपमा रहेको चार लेन सडकको निर्माण कुनै बहनामा रोकिन नहुने बताउनुभयो । निरीक्षणमा नेता गिरीसँगै राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, पूर्वसांसद दधिराम न्यौपाने, सुनिता ठटेर, प्रदेशसभा सदस्य कन्हैया बानिया, पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवालगायत सहभागी थिए । 

रुपन्देहीको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको बेलबास-बेथरी-मर्चवार सडकअन्तर्गतका अधिकांश सडक निर्माण पूरा भए पनि मर्चवार क्षेत्रकै सडकखण्ड लामो समयदेखि अलपत्र थियो । हाल आएर सडक निर्माण कार्य अघि बढ्ने भएपछि छिट्टै सडक निर्माण हुने आशामा स्थानीय छन् । स्थानीय मुस्लिम खानले लामो समयदेखि काम अलपत्र पर्दा निराश भएको बेला निर्माणको काम अघि बढेपछि मर्चवारको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका ओमप्रकाश यादवले मर्चवार सडकलाई अगाडि बढाउन पहल गर्ने नेतृत्वलाई धन्यवाद दिनुभयो । रासस