• १३ साउन २०८१, आइतबार

इच्छा विपरीत रङ्ग नदल्न प्रशासनको अनुरोध

blog

रमेश विश्वकर्मा
गुल्मी, चैत १० गते ।
 जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु अर्थात् होली पर्वमा कसैको इच्छा विपरीत रङ्ग नदल्न अनुरोध गरेको छ । आइतबार पहाडी जिल्ला तथा उपत्यकाका जिल्ला र सोमबार तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

रङ्गहरूको पर्वको रूपमा मनाइने होलीमा कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने बाटोमा लुकेर बटुवालाई रङ्ग लगाउने र बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने काम गर्न नहुने प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

फागु अर्थात् होली पर्व सभ्य रूपमा मनाउन आग्रह गर्दै कानुन विपरीत हुने कुनै पनि गतिविधिहरू गर्न नहुने उहाँले बताउनुभयो । कहीँ कतै कानुन विपरीतका कार्यहरू भए गरेको पाइएमा प्रचलित नियम अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।