• १३ साउन २०८१, आइतबार

होलीमा काठमाडौँका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी

blog

काठमाडौं, चैत १० गते । जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ ।

होलीका लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूका लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गर्नुभयो ।

उहाँले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको बताउनु भयो । जसका लागि काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको बताउनु भयो । उहाँले होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताउनु भयो । उहाँले होली खेल्न नचाहनेहरूका लागि जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्नुभयो ।