• १६ वैशाख २०८१, आइतबार

राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान

blog

कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साह दशरथ रङ्गशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १० गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । शनिबार दशरथ रङ्गशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री साहले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको जानकारी दिनुभयो । उहाँले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले प्रोटिनजन्य खाद्यपदार्थहरू जस्तै दुध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार हुन् । विविधताको एकतामा कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको छ । यसको लागि सन्तुलित आहारको उपलब्धता, पहुँच र दिगोपन अत्यन्त महत्त्वपूर्ण हुन्छ । प्रोटिनजन्य खाद्यपदार्थहरू जस्तै दूध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार हो ।’

मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गर्नुभयो । मन्त्रालयले प्रोटिनजन्य पदार्थहरू माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै आएको बताउनुभयो ।