• २७ वैशाख २०८२, शनिबार

मेडिकल काउन्सिलका पदाधिकारीसँग गृहमन्त्रीको परामर्श

blog

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ९ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्ति बढेको भन्दै उहाँले सो छलफल गर्नुभएको हो ।  

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति बढेको बताउनुभयो । सो विषयमा उहाँले काउन्सिलका पदाधिकारीसँग सुझाव माग्नुभएको बताइएको छ । 

छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्ने जनाएको छ । 

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलो पटक चासो राखेको बताउनुभयो। छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरू डा. रूपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी हुनुहुन्थ्यो ।