• १३ साउन २०८१, आइतबार

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा

blog

पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा सभा । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत ९ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताउनुभयो । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिनपर्ने बताउनुभयो ।

पालिकाले स्वास्थ्यसँगै शिक्षा तथा सरसफाइका क्षेत्रमा नमुना काम गर्ने बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको दक्षिण भेगमा सरसफाइ, स्वास्थ्यको अवस्था कमजोर रहेकोले त्यसको सुधारका लागि योजना बनाउनुपर्ने बताउनुभयो ।

“पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चिततासम्बन्धी मापदण्ड, २०८० अनुसारका नगरपालिकाले ४ पटक गर्भ जाँच गराएका महिलाको सङ्ख्या ९० प्रतिशत, स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको सङ्ख्या ९५ प्रतिशत छ । 

यसैगरी घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको जनाएको छ । सूचक अनुसार ३ पटक प्रसूति जाँच गराउने महिलाहरूको सङ्ख्या ९० प्रतिशत पुगेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।