• १२ साउन २०८१, शनिबार

बिस प्रतिशत घरमा छैन शौचालय

blog

जानु पाण्डे

कपिलवस्तु, चैत ९ गते । खुला दिसामुक्त नेपालका २२ पालिका २० प्रतिशतभन्दा बढी घरपरिवार शौचालयविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेश प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचीमा रहेका छन् । जसमध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेश प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्साका पालिका रहेका छन् ।

जिल्लागत तथ्याङ्क अनुसार कपिलवस्तु शौचालय नहुनेमा देशकै प्रथम रहेको छ । जिल्लाका २२ प्रतिशत घरधुरी शौचालयविहीन रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २६ हजार ८३३ घरधुरी शौचालयविहीन रहेको छ । कुल एक लाख २१ हजार छ सय २१ घरमा ४१ प्रतिशत सेफ्टी ट्याङ्की र ३३ प्रतिशत पिट प्रयोग गरी शौचालय निर्माण भएका छन् । २०७६ असारसम्म लुम्बिनी प्रदेशमा कपिलवस्तु जिल्ला मात्र खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको थियो । जिल्लाको दक्षिणी भेगमा रहेका कृष्णनगर, कपिलवस्तु, महाराजगन्ज नगरपालिका तथा यशोधरा र शुद्धोदन गाउँपालिका खुला दिसामुक्त भएका थिएनन् ।

जिल्लाको कृष्णनगर नगरपालिका शौचालय नहुनेको अग्रस्थानमा रहेको छ । जहाँ ४७.२ प्रतिशत घरधुरी शौचालयविहीन छन् । पालिकामा १० हजार ६७० घरमध्ये पाँच हजार ३४ मा शौचालय नभएको तथ्याङ्क छ । यसै गरी महाराजगन्ज नगरपालिकामा ४५.५ प्रतिशत र विजयनगर गाउँपालिकामा ४५.२ प्रतिशत घरधुरी शौचालयविहीन रहेका छन् । यशोधरा गाउँपालिकामा ३६.३४ प्रतिशत र शुद्धोधन गाउँपालिकामा ३६.२४ प्रतिशत घरधुरी शौचालय नभएको जनगणनाको तथ्याङ्क रहेको छ । 

कपिलवस्तुको मायादेवी गाउँपालिकामा २०.५५ प्रतिशत र रुपन्देहीको मर्चवारी गाउँपालिकामा २४.४८ प्रतिशत शौचालय छैनन् । कपिलवस्तुमा विजयनगर गाउँपालिकाले मात्र पुनः शौचालय निर्माणको अभियान सञ्चालन गरेको छ । पालिकामा पछिल्ला तीन आवमा विपन्न, अपाङ्गता भएका तथा एकल महिलाका ९१३ घरमा नयाँ शौचालय निर्माण गरेको अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।

मधेश प्रदेशका १५ पालिका २० प्रतिशत शौचालय नहुनेको सूचीमा रहेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका २९.८१ प्रतिशत, राजगढ गाउँपालिका २८.५५ प्रतिशत, शम्भुनाथ नगरपालिका २०.१ प्रतिशत शौचालय छैनन् । महोत्तरीको भँगहा नगरपालिका २७.८६ प्रतिशत, साम्सी गाउँपालिका २४.९२ प्रतिशत, औरही नगरपालिका २३.८९ प्रतिशत, रामगोपालपुर नगरपालिका २१.९६ प्रतिशत घरधुरी शौचालय नभएको जनगणनाको तथ्याङ्क रहेको छ ।