• १२ साउन २०८१, शनिबार

इन्जिनियरिङ शिक्षाका चुनौती

blog

नेपालमा इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन भएको लामो समय बितिसक्दा पनि अझै दक्ष इन्जिनियरको माग पूरा हुन सकेको छैन । विद्यार्थीहरू महँगो शुल्क तिरेर प्राविधिक शिक्षा लिन बाध्य छन् । सरकारी क्याम्पसमा समेत इन्जिनियरिङ र अन्य प्राविधिक शिक्षाको शुल्क महँगो छ । शिक्षालाई कसरी सर्वसुलभ र रोजगारमुखी बनाउन सकिन्छ भन्ने बहस र छलफल सेमिनार र गोष्ठीमा टुङ्गिन्छ । उत्पादित दक्ष जनशक्तिलाई रोजगारी दिएर देशमै कसरी राख्ने भन्ने दीर्घकालीन र अल्पकालीन योजना तय गर्न सकिएको छैन । सिटिइभिटी र विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका कार्यव्रmममा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको कमी हुँदा कतिपय कलेजमा कार्यक्रम नै स्थगन भएका छन् । इन्जिनियरिङ शिक्षालाई राम्रोसँग विकसित र व्यवस्थित गरी सञ्चालन गर्न सकेमा इन्जिनियरिङ शिक्षा प्रणालीका लागि निकै ठुलो योगदान हुने छ । यसबाट देशको आर्थिक वृद्धि प्राविधिक विकास र सामाजिक रूपान्तरणमा महìवपूर्ण योगदान गर्न आवश्यक सिप र ज्ञानले भविष्यका पुस्तालाई मार्गदर्शन गर्न सहयोग पुग्ने छ । हाल नेपालमा इन्जिनियरिङ शिक्षाले गम्भीर चुनौतीको सामना गरिरहेको छ । यसको वर्तमान अवस्था र यसले भोगेका चुनौतीको विश्लेषण यहाँ गरिएको छ ।

हाल इन्जिनियरिङ शिक्षाको आवश्यकता र माग नेपालमा मात्र होइन विश्वमै उच्च छ । विकसित राष्ट्रहरूमा समेत दक्ष प्राविधिक जनशक्तिको माग बढेको तथ्याङ्कले देखाउँछ । यस परिप्रेक्ष्यमा नेपाल जस्तो विकासोन्मुख देशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा र प्राविधिक जनशक्तिको आवश्यकता धेरै छ । आधुनिक युगको मागसँगै विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति गुणस्तरीय र सिपयुक्त हुनुपर्नेमा सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने देशकै पहिलो विश्वविद्यालय हो । नेपालमा छ वटा विश्वविद्यालयमा इन्जिनियरिङतर्फको जनशक्ति उत्पादन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखारा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हरेक वर्ष करिब आठ हजार विद्यार्थी इन्जिनियरिङ शिक्षा अध्ययन गरिरहेका छन् । प्रत्येक वर्ष करिब चार हजारभन्दा बढी इन्जिनियरहरू उत्पादन हुन्छन् । इन्जिनियरिङ शिक्षामा विद्यार्थीको बढ्दो आकर्षणसँगै अपेक्षाकृत जनशक्ति उत्पादन भइरहेका छन् वा छैनन्, त्यसमा ध्यान दिनु पर्छ । स्नातकतर्फ इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको अन्य देशको तुलनामा नेपालको उत्तीर्ण प्रतिशत निकै कम छ । विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाउनु निकै चुनौती छ । इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा नीति, पठनपाठनमा आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान र नवप्रवर्तन जस्ता विषयमा बढी जोड दिनु पर्छ । देशलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति विकास गर्न हाल विश्वविद्यालयले उपलब्ध गराएको शिक्षाको गुणस्तरलाई बढाउन शिक्षण पद्धतिमा आमूल परिर्वतनको आवश्यकता छ । यसका लागि इन्जिनियरिङ शिक्षामा रहेका चुनौतीलाई सामना गर्ने क्षमता राख्नु पर्छ । समाज निर्माणको प्रमुख आधार भनेकै दक्ष प्राविधिक जनशक्तिको विकास र त्यसले निर्माण गर्ने रोडम्याप नै हो ।

इन्जिनियरिङ शिक्षाले नेपालको आर्थिक, सामाजिक रूपान्तरणमा सशक्त भूमिका निर्वाह गरेको छ । यसले समाजका हरेक क्षेत्रलाई नयाँ ढङ्गले डिजाइन गर्न र मानिसको जीवनस्तरमा सुधार ल्याउन र दैनिक जीवनलाई सरलीकरण गर्न, समाजको आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्छ । साथै, यसले लैङ्गिक विभेदको अन्त्य गर्न, सामाजिक न्याय प्रदान गर्न, रोजगारी सिर्जना र स्वरोजगार बन्न, जनताको समृद्ध भविष्यका लागि दिगो विकासलाई प्रवर्धन गर्न, आवश्यक पूर्वाधार निर्माण गर्न पनि गहन भूमिका खेलेको छ । त्यति मात्र होइन, यसले उत्पादित जनशक्तिलाई प्राविधिक प्रणालीहरू डिजाइन, निर्माण सञ्चालन गर्नका लागि आवश्यक ज्ञान, सिप, समस्या समाधान गर्ने क्षमता, दृष्टिकोण निर्माण, मनोवृत्ति विकास र चुनौतीसँग जुध्ने आत्मबल प्रदान गर्छ । 

विभिन्न क्षेत्रमा दक्ष इन्जिनियरको बढ्दो मागलाई सम्बोधन गर्न विश्वविद्यालयले मागबमोजिमका विषयको दायरालाई फैलाउनु उपयुक्त हुन्छ । विश्व बजारमा बिक्ने विषयलाई सञ्चालनमा ल्याउने र बिक्न नसक्ने विषयको पढाइ अब बन्द गर्नु पर्छ । बेरोजगार हुने शैक्षिक जनशक्ति उत्पादन गर्नु राज्यका लागि घाटा हो । देशमा बलियो पूर्वाधार निर्माणदेखि दिगो विकासका लागि नयाँ नयाँ उपाय विकास गर्न, राष्ट्रको उन्नति र प्रगतिका साथै सामाजिक आर्थिक रूपान्तरणमा इन्जिनियरको योगदान अतुलनीय छ । यद्यपि, नेपालको इन्जिनियरिङ शिक्षाको वर्तमान अवस्था त्यति सन्तोषजनक छैन तर यसको भविष्य प्रशस्त सम्भावना र चुनौतीले भरिएको छ । नेपाली इन्जिनियरले विश्वका इन्जिनियरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले विश्वविद्यालय तथा कलेजहरूले इन्जिनियरिङ शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनु पर्छ । 

इन्जिनियरिङ शिक्षाका उत्पादित जनशक्ति नेपाली बजारमा खपत हुन नसक्नु, खपत भएका जनशक्तिको पारिश्रमिक न्यून हुनु, उत्पादित जनशक्तिमध्ये धेरै विदेश पलायन हुनु, अन्य उत्पादित जनशक्तिमा उद्योगको माग अनुसारको ज्ञान, सिप, क्षमता र व्यवहार नहुनु, शिक्षण सिकाइमा सूचना प्रविधिको कम प्रयोग हुनु, अनुत्तीर्ण विद्यार्थीको सङ्ख्या बढ्दै जानु, प्रत्येक वर्ष सयौँ विद्यार्थीले अध्ययन छोड्नु, शैक्षिक संस्थामा भौतिक र प्राविधिक पूर्वाधारका साथै मानव स्रोतसाधनको कमी रहेको छ । परम्परागत शिक्षण पद्धतिमा परिर्वतन नहुनु, बजार र समयको माग अनुसारको पाठ्यक्रम समयमै परिमार्जन हुन नसक्नु, उत्पादित जनशक्तिलाई राज्यले जागिर र तालिममा समावेश गर्न नसक्नु, इन्जिनियरिङ शिक्षा नीति कमजोर हुनु, शिक्षक तथा विद्यार्थी अध्ययन अध्यापनमा भन्दा राजनीतिक गतिविधिमा बढी संलग्न हुनु इन्जिनियरिङ शिक्षाका प्रमुख चुनौती रही आएका छन् ।

पर्याप्त भौतिक र प्राविधिक पूर्वाधार नभएमा शैक्षिक संस्थाहरूले प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गर्न गाह्रो हुन्छ । गुणस्तरीय शिक्षाका लागि इन्जिनियरिङ क्षेत्रमा थप लगानीको आवश्यकता छ । इन्जिनियरिङ शिक्षाको गुणस्तर कायम गर्नका लागि नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकालाई सशक्त बनाउनु पर्छ । इन्जिनियरिङ सङ्कायमा डिप्लोमा तहदेखि विद्यावारिधिसम्मका कार्यक्रमसमेत नेपालमै सञ्चालन भइरहेको हुँदा पुँजी विदेश पलायन हुनबाट रोकिएको छ तर दक्ष जनशक्ति नै पलायनको अवस्था निकै जटिल अवस्थामा पुगेको छ । भोलिका दिनमा दक्ष प्राविधिक जनशक्ति नेपालमै नपाइने हो कि भन्ने बहस चल्न थालेको छ । नेपालको अध्ययन, अध्यापन प्रणाली अझै पनि परम्परागत शैलीमा सञ्चालन भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति कमै मात्र उत्पादन हुन सक्ने अवस्था छ ।

विद्यार्थीहरू अध्ययन अध्यापन, अनुसन्धान, परीक्षा तयारी, प्रयोगात्मक अभ्यास, फिल्ड कार्य, मामिला अध्ययन, परियोजना कार्य, समस्या समाधान, सामूहिक छलफल, गेस्ट लेक्चर, उद्योग अवलोकन, रोजगार प्रशिक्षणमा भन्दा कक्षा बङ्क गर्नुका साथै गैरशैक्षिक क्रियाकलापमा बढी समय खेर फालेको पाइन्छ । इन्जिनियरिङ पेसाका लागि आवश्यक पर्ने जीवन कौशल शिक्षा र हार्ड एवं सफ्ट सिपहरूका व्यावहारिक पक्षलाई केलाउनुका साथै तिनीहरूलाई रोजगारी सिर्जना र उद्यमशीलता विकासमा ढाल्न नसक्नु इन्जिनियरिङ शिक्षामा भएको कमजोरीले नै हो । शैक्षिक सामग्री, पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावले सिकाइ वातावरणलाई असर गर्छ । प्रभावकारी शिक्षण र सिकाइका लागि नयाँ नयाँ स्रोतहरूमा विद्यार्थीको पहुँच आवश्यक छ । इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम बजारको माग अनुसार अद्यावधिक गर्न आवश्यक छ । 

विश्वविद्यालयले इन्जिनियरिङ सङ्कायमा विद्यार्थीको चौतर्फी विकासका लागि पर्याप्त शिक्षण, प्रशिक्षण, अध्ययन, स्रोत बजारमा माग गरिएको पाठ्यक्रम विकासका लागि राम्रो योजना बनाउन सकेका छैनन् । विश्वविद्यालयको समग्र योजना पदाधिकारी चयनमा हुने राजनीतिक खिचातानीमा पुगेर टुङ्गिन्छ । दस वर्ष पुरानो पाठ्यक्रम पढाएर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्छु भन्नु मृगतृष्णा मात्र हो । व्यावहारिक ज्ञान प्रदान गर्न र आलोचनात्मक सोचमा वृद्धि गर्न दक्ष शिक्षकहरू हुनु आवश्यक छ । राज्यका विभिन्न तहमा नीति र योजनाबिच समन्वयको अभाव छ । अपर्याप्त भौतिक र प्राविधिक पूर्वाधार र पुराना उपकरणमा प्रयोगात्मक अभ्यास गर्नुपर्ने बाध्यता, विद्यार्थीको अनुपातमा फिल्ड कार्य, कार्यशाला, सम्मेलनको कमी छ । यस्तै अभ्यास गरेर सिक्नेभन्दा घोकेर कण्ठ गरेर परीक्षामा लेखेर चालीस, पैतालीस नम्बर ल्याउनै पर्ने बाध्यकारी परीक्षा प्रणाली हाम्रो शिक्षा प्रणालीका खराब पक्ष हुन् ।

इन्जिनियरिङका विद्यार्थी/शिक्षकमा राजनीति घुस्नु देशकै लागि विडम्बनाको कुरा हो । शैक्षिक संस्थामा हुने विद्यार्थी/शिक्षक राजनीतिले इन्जिनियरिङ शिक्षाको गुणस्तर खस्काउन राम्रै भूमिका खेलेको छ । कलेज तथा विश्वविद्यालयमा गरिने तालाबन्दीले विद्यार्थीको पठनपाठन अवरुद्ध गर्ने मात्र नभई यस्ता गैरशैक्षिक कार्यले विद्यार्थी तथा शिक्षकमा अध्ययन–अध्यापनप्रति नै नकारात्मक प्रभाव परिरहेको छ । बन्द, हडताल, चक्काजाम, मेला, पर्व, जात्राका नाममा पढाइ नहुनाले विद्यार्थीको अध्ययनमा समस्या भएको छ । यसतर्फ सरोकारवालाको ध्यान जानु पर्छ । 

अन्त्यमा, हाल बर्सेनि करिब आठ हजार इन्जिनियरिङका जनशक्ति देशभित्रै उत्पादन भइरहेका छन् । इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने कलेज तथा विश्वविद्यालयका पाठ्यक्रममा कम्तीमा तीन महिना इन्टर्नसिप गर्नुपर्ने व्यवस्था हुनु पर्छ, जसले विद्यार्थीलाई उद्योग र व्यवसायसँग जोड्न सक्छ । यी चुनौतीलाई सम्बोधन गर्न नीति निर्माताहरू, शिक्षाविद्हरू र सरोकारवालाको सामूहिक प्रयास आवश्यक छ । पूर्वाधारमा लगानी, शिक्षक तालिम, विद्यार्थीलाई अनुसन्धान र नवप्रवर्तनमा जोड्ने र विश्व बजारको मागबमोजिम पाठ्यक्रम परिमार्जन गरेमा नेपालमै दक्ष इन्जिनियर उत्पादन गर्न सकिन्छ । 

   

Author

डा. शैलेन्द्र गिरी