• १६ भदौ २०८१, आइतबार

लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति सम्मेलन सुरु

blog

सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : लुम्बिनी विकास कोष

लक्ष्मण पौडेल

भैरहवा, चैत ८ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । उक्त दुई दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ पनि लुम्बिनी आइपुग्नुभएको छ । 

कार्यक्रममा भाग लिन १९ वटा मुलुकका गैरआवासीय राजदूतहरू एकै पटक लुम्बिनीमा भेला भएका छन् । उक्त सम्मेलनमा भाग लिन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका थिए । 

आयोजकले लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन तथा विश्व शान्ति सन्देशका लागि सम्मेलन गरिएको जनाएका छन् । यो सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत सहभागी हुनुभएको छ । 

सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने कार्यक्रम छ । नेपालमा लगानीको अवसर बढाउन पनि कार्यक्रमले योगदान गर्ने आयोजकको भनाइ छ । नेपाल पर्यटन बोर्ड तथा लगानी बोर्डको कार्यालयको पनि सम्मेलनमा सहयोग छ । विश्व शान्ति सम्मेलन शुक्रबार सकिने छ ।

राससका अनुसार, लुम्बिनी क्षेत्रमा आज आइपुगेका प्रतिनिधि बुटवलदेखि केवलकारबाट पाल्पास्थित वसन्तपुर पुगेका थिए ।

वसन्तपुरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिनिधिलाई स्वागत गर्दै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने गरी विभिन्न देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गर्नुभएको छ ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसर बढिरहेको भन्दै  राजदूतहरूको ध्यानाकर्षण गराउनुभएको हो  ।  

अवैतनिक कन्सुलर कप्र्स नेपाल (एचसिसिएन) का भाइस डीनसमेत रहनुभएका अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवद्र्धन गरिरहेकाले लगानीकर्ता जुटाउन सामूहिक पहल गर्नुपर्ने समय आएको बताउनुभयो ।  

कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सिर्जना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।  विश्वको जनसङ्ख्याको एक तिहाई बौद्ध धर्मावलम्बी रहेकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने ढकालले बताउनुभयो । 

 त्यस अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डीन विष्णु अग्रवालले   निजी क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले निजी क्षेत्रमैत्री नीति र कानुन बन्नुपर्ने बताउनुभयो ।