• २२ वैशाख २०८१, शनिबार

एनभिए भलिबल : नेपाल पुलिस र एभरेष्ट क्लब फाइनलमा

blog

सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै एभरेष्ट र न्यु डायमन्डका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत ८ गते । विभागीय टोली नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा बिहीबार पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । अर्को सेमिफाइनल खेलमा तीन जना भारतीय खेलाडीको साथ पाएको एभरेष्टले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । 

एपिएफमाथि सशक्त प्रदर्शन गरेको पुलिसले २७–२५, २५–२२, २८–३०, २५–१७ को जित निकालेको थियो । यस्तै एभरेष्टले न्यु डायमन्डमाथि २५–२०, २५–१२, २५–१८ को सजिलो जित हात पारेको थियो । 

यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । पुलिसले २५–१३, २५–१६, २५–१३ को सहज जित निकालेको हो । अर्को खेलमा त्रिभुवन आर्मी क्लब सुदूरपश्चिमलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले आर्मीले सुदूरपश्चिममाथि २५–१९, २२–२५, २५–२३, २५–१७ को जित निकालेको थियो । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता छ । 

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।