• १६ भदौ २०८१, आइतबार

जीर्ण भवनबाट सेवा दिँदै प्रहरी

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ८ गते । हिमालपारिको जिल्ला मुस्ताङको प्रहरी एकाइ रहेको भवन जीर्ण भए पनि त्यही भवनबाट प्रहरीले सेवा दिँदै आएका छन् । मुस्ताङमा प्रहरीका १३ एकाइहरुमध्ये ८ वटा एकाइह विभिन्न सङ्घसंस्थाको जोखिमपूर्ण भवनबाट सञ्चालन हुँदै आएका छन् ।

पवित्र तीर्थस्थल मुक्तिनाथमा प्रहरीको आफ्नै भवन निर्माणको क्रममा छ भने छोसेरमा रहेको प्रहरी चौकीका लागि पनि जग्गा प्राप्त भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी प्रहरीका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

प्रनाउ पाण्डेयका अनुसार प्रहरी चौकी छोन्हुप, प्रहरी चौकी घमी, प्रहरी चौकी चराङ, इलाका प्रहरी कार्यालय छुसाङ, प्रहरी चौकी कागबेनी, प्रहरी चौकी सुर्खाङ र प्रहरी चौकी कोवाङको आफ्नो जग्गा तथा भवन छैनन् । मुस्ताङ जिल्लामा ५ वटा इलाका प्रहरी कार्यालय र ७ वटा प्रहरी चौकीबाट प्रहरीले सेवा प्रवाह गर्दै आएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । मुस्ताङ जिल्ला प्रवेश मार्गमा पर्ने इलाका प्रहरी कार्यालय लेते, प्रहरी चौकी घाँसा र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सम्पर्क समन्वय गर्नका लागि सहज रहने इलाका प्रहरी कार्यालय लोमान्थाङको पनि आफ्नै भवन छ ।

उपल्लो मुस्ताङको सुर्खाङमा रहेको प्रहरी चौकीले स्थानिय विद्यालय भवनबाट सेवा दिइरहेको छ । त्यस्तै उपल्लो मुस्ताङकै छोन्हुप प्रहरी चौकी साविकको छोन्हुप गाविसको भवन छ । मुस्ताङतर्फको अन्तिम बस्ती छोसेरमा रहेको प्रहरी चौकी नेचुङ भन्सार कार्यालयबाट सेवा दिइरहेको छ । पवित्र तिर्थस्थल मुक्तिनाथमा रहेको इलाका प्रहरी कार्यालय रानीपौवास्थित धर्मशाला छ । 

इलाका प्रहरी कार्यालय छुसाङ एक्याप र आमा समूहको भवनमा, प्रहरी चौकी चराङ विद्यालयको भवनमा, प्रहरी चौकी कोवाङ व्यक्तिको घरमा भाडामा र प्रहरी चौकी कागबेनी पनि भाडाको घरबाट सेवा दिँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले मुस्ताङमा मुख्य गरी प्रहरीका १३ एकाइमध्ये ८ वटा प्रहरी एकाइको जग्गा र भवन दुवै नभएको तर जग्गा प्राप्तिको लागि प्रयास गरिएको बताउनुहुन्छ । प्रहरी आफ्नो कर्तव्यमा प्रतिबद्ध हुँदै गर्दा पनि कतिपय भवन आफैँ बस्नसम्म पनि जोखिम अवस्थामा रहने सम्भावनालाई नकार्न नसकिने उहाँको भनाइ छ ।