• १४ मंसिर २०८१, शुक्रबार

अव्यवस्थित बसोवासीलाई पुर्जा वितरण

blog

फाइल तस्बिर

गणेश पौडेल

पर्वत, चैत ८ गते । पर्वतमा सातसय ७९ जना भूमिहीन अवस्थामा रहेका दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले जिल्लाका सात वटै पालिकाबाट फागुन मसान्तसम्म लगत सङ्कलन भई छनौट भएका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काम सुरु गरिएको हो । 

आयोजकका अनुसार जिल्लाका सबै स्थानीय तहका वडाबाट निवेदन सङ्कलन भई स्थानीय तहमा पठाउने काम सकिएको छ । केही स्थानीय तहमा जग्गा वितरणको काम सुरु गरिएको समितिका पदाधिकारीको भनाइ छ । 

आयोगका जिल्ला अध्यक्ष उदय सुबेदीका अनुसार जलजला गाउँपालिकामा भूमिहीन दलित ४५ परिवार, भूमिहीन सुकुम्वासी १६ परिवार र अव्यवस्थित बासोवासी एक सय ७८ परिवार रहेको जानकारी दिनुभयो । 

जलजलाका सबै वडामा जग्गा नापजाँचको काम सकिएकाले स्थानीय तहको समन्वयमा नापी कार्यालयमार्फत जग्गा छुट्याएर लालपुर्जा वितरणको तयारीमा रहेको अध्यक्ष सुबेदीले बताउनुभयो । जलजला, मोदी र बिहादीबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई उपलब्ध गराउने जग्गाको विवरण समेत आइसकेको छ । 

यस्तै, मोदी गाउँपालिकाको वडा २ र  ६ बाट आएका प्रस्तावको नापी समेत भएको छ । हालसम्म कुल दुईसय कित्ताको नाप गर्ने काम पूरा भएको पनि अध्यक्ष सुवेदीले बताउनुभयो । ‘स्थानीय तहबाट जग्गाको प्रस्ताव आइसकेपछि दाबी विरोधको सूचना निकालेर प्रक्रिया अगाडि बढ्ने छ’ उहाँले भन्नुभयो ।

सुवेदीका अनुसार जलजला गाउँपालिका, मोदी गाउँपालिका, बिहादी गाउँपालिका र महाशिला गाउँपालिकाबाट निवेदनहरू जिल्ला समितिमा आइसकेका छन् । कुश्मा नगरपालिका, फलेवास नगरपालिका, र पैयुँ गाउँपालिकाबाट आउनेक्रममा रहेका छन् । फलेवास नगरपालिकाका निवेदन तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेका छन् भने कुश्मा र पैयुँका केही मात्र तथ्याङ्क प्रणालीमा प्रविष्ट गराउन बाँकी रहेको उहाँको भनाइ छ । 

सबै प्रक्रिया पूरा भएपछि भूमिहीनले सहरी क्षेत्रमा चार आना र ग्रामीण क्षेत्रमा भए साढे १० आनासम्म जग्गा निःशुल्क रूपमा प्राप्त गर्ने अध्यक्ष सुवेदीको भनाइ छ ।  तर अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरूले भने सहरी क्षेत्रमा जग्गा पाउने छैनन् । उनीहरूले भोग गर्दैआएको जग्गा भएमा करिब २० रोपनीसम्म किन्न पाउने व्यवस्था रहेको भन्दै उहाँले त्यसका लागि पनि २०७६ माघ २६ सम्ममा भोग गरेको अवधि १० वर्ष पुगेको छ ।  

कुश्मा नगरपालिकामा भूमिहीन दलित ४६ परिवार, भूमिहीन सुकुम्वासी २६ परिवार र अव्यवस्थित बसोवासी एकसय चार परिवार गरी कुल एकसय ७६ परिवार रहेका छन् । यस्तै, मोदी गाउँपालिकामा ११ परिवार, फलेवास नगरपालिकामा १२ परिवार, महाशिला गाउँपालिकामा दुई परिवार, बिहादी गाउँपालिकामा १९ परिवार र पैयुँ गाउँपालिकामा २० परिवार छन् । 

भूमिहीन सुकुम्वासी अन्तर्गत मोदीमा १३ परिवार, फलेवासमा ११ परिवार, महाशिलामा एक परिवार, बिहादीमा ११ परिवार र पैयुँमा पाँच परिवार छन् । अव्यवस्थित बसोबासीतर्फ मोदीमा ३९ परिवार, फलेवासमा एकसय ४५, महाशिलामा २५ र पैयुँमा ५० परिवार छन् ।