• १७ जेठ २०८१, बिहिबार

प्रेमका फरक फरक अनुहार

blog

“ऊ त्यही हो, ज्यानेटको पहिलो श्रीमान् । जसले रातो ज्याकेट लगाएर हाम्रै अगाडि बसिरहेको छ । हो, उसैलाई छोडेपछि नै हो ज्यानेटले आफ्नो वास्तविक परिचय लुकाएर ज्योतिबाट ज्यानेट नामले प्रख्यात भएकी ।”

हामी एउटा भव्य सम्मान समारोहमा उपस्थित भएका थियौँ । मेरो देब्रेतिर ज्यानेट थिइन् भने दाहिनेतर्फ भएको मेरो अर्को साथीले ज्यानेटका बारेमा मेरो कानमा खुसुक्क सुनायो । 

मैले उसको कुरा सुन्नेबित्तिकै छक्क पर्दै ज्यानेटको श्रीमान् र ज्यानेटलाई पालैपालो हेरेँ । 

उनीहरू एकअर्कामा अपरिचित जस्तै भएर बसिरहेका थिए । उनीहरूलाई देख्दा लाग्दैन थियो कि उनीहरू कुनै बेला एकअर्काबिना बाच्नै नसक्ने भएका थिए भनेर । ज्ञ आखिर के रहेछ त्यो मायाको लहरो र अटुट भनिएको सम्बन्ध ? क्षण भरमै चुँडिएर कमजोर हुन सक्ने । 

कस्तो रहेछ उनीहरूको प्रेमको भ्रमित जालो ? जहाँबाट सजिलै उम्किन सकिने र कसरी बिर्सिए होलान् उनीहरूले ती फरक प्रेम सिद्धान्तका अमर गीतका टुक्काहरू ? 

जति बेला उनीहरूको एउटै श्वासले परिवर्तनको विगुल फुकेर प्रेम स्वतन्त्रताका लागि विश्व थर्काएको थियो । 

मभित्रका अनेक प्रश्नहरूले उनीहरूलाई पटक पटक हेरिरहेका थिए । म ज्यानेटको ठुला ठुला आँखा, मिलेका दन्त लहरले मुस्कुराइरहने त्यो सुन्दर मुहार र उसले अरूसँग निस्फिव्रmी गरिएको संवादमा प्रभावित भइरहेको थिएँ । ज्यानेट हेर्दा साधारण लागे पनि त्यति धेरै सामान्य मानिस भने होइनन् । उनी साहित्य र पत्रकारिता जगत्मा चिरपरिचित थिइन् । उनको जति बुलन्द आवाज थियो त्यति नै उनको कलमको बेजोड शक्ति थियो । उनले बोल्ने र लेख्ने शब्दहरू सीधै मुटुलाई छुन्थे र मस्तिष्कलाई झङ्कृत बनाउने खालका हुन्थे । त्यसैले पनि म ज्यानेटको राम्रो श्रोता र पाठक दुवै थिएँ ।

त्यसो त मभन्दा मेरी आमा ज्यानेटको ठुलै फ्यान थिइन् । ज्यानेटले गरेका हरेक गतिविधिलाई सूक्ष्म तरिकाले अनुसरण गर्न खोज्थिन् । कहिलेकाहीँ आमाको ज्यानेटप्रतिको भक्तिभाव देखेर मैले जिस्केर आमालाई तिम्रो ज्यानेट तिमीले मानेका भगवान्भन्दा नि ठुली हुन् कि के हो ? भनेर सोध्दा आमाले आँखाभरि आँसु भरेर मलिनो स्वरमा, “त्यति धेरै त होइन तर खै किन हो म उसलाई धेरै मान्छु भन्थिन् ।” 

ज्यानेटले लेखेका हरेक शब्दलाई फुलका थुँगा सङ्कलन गरे झैँ सङ्कलन गर्थिन् । आफ्नो अमूल्य र पवित्र आँसुको धाराले धोई पखाली गर्थिन् । जतन गरेर सिरानी नजिकै राख्थिन् । गीता पाठ गरे झैँ बेला बखत सबैले सुन्ने गरी पाठ गर्थिन् । कतै रेडियो टेलिभिजन अथवा कुनै पनि सामाजिक सञ्जालमा ज्यानेटको आवाज सुनिहालिन् भने ठुला ठुला गुरु महात्माको प्रवचन सुने जसरी सुनिरहन्थिन् । त्यति बेला आमालाई खुसीको या दुःखको के महसुस भएको छ, मैले बुझ्नै सक्दिन थिएँ । आमाको मनको तलाउमा शान्त वा अशान्त कस्तो रङको फुल फुलेको छ मैले चालै पाउँदिनँ थिएँ । मेरी आमाको ज्यानेटप्रतिको बेग्लै अगाध प्रेम थियो । 

ज्यानेटका सुन्दर तस्बिरलाई आफ्नो कोठाका भित्तामा सजाउँथिन् । यो देखेर म निकै भावुक हुन्थेँ । रणभुल्लमा पर्थें । आमालाई न सम्झाउन सक्थेँ न बुझाउन सक्थेँ । बस् आमालाई आमाकै संसारमा रमाउन दिन्थेँ । किनकि मेरी आमाले ज्यानेटलाई अहिलेसम्म भेटेकी छैनन् ।

तैपनि उनको यस्तो अद्भुत प्रेम देखेर म मात्रै होइन, जो कोही पनि छक्क पर्थे । आमा भन्छिन्, “मलाई कुनै रहर छैन ज्यानेट भेट्न । म उसलाई चाहेर पनि भेट्दिनँ । म बाँचुन्जेल मेरो ऊसँग कहिल्यै जम्काभेट नहोस् ।” यस्तै यस्तै अनेक अनेक भेट्न मन नलागेका गुनासाहरू गरिरहन्थिन् । 

तर किन उसलाई भेट्न चाहँदिनन् ? यो मेरो मनमा सधैँ भइरहेको कुतूहलको प्रश्न हो । मैले आमालाई पटक पटक प्रश्न गर्थें । तर आमाले समय आएपछि आफैँ थाहा पाइने कुरा हो अहिले तिमीले सोधेको प्रश्न र मैले दिएको जवाफको कुनै अर्थ छैन । यो हाम्रो अहिलेको आवश्यकताको विषय होइन भन्दै मेरा प्रश्नलाई टारिदिन्थिन् । त्यसपछि म समयको त्यो विन्दुलाई पर्खिन थालेँ । ज्यानेटका बारेमा आमालाई कहिल्यै कर गरेर केही सोधिनँ र उनले पनि कहिलै भन्न चाहिनन् ।

त्यसो त पेसाले आमा शिक्षिका हुन् । एउटा निजी स्कुलमा पढाउँछिन् । उनीसँग जस्तोसुकै प्रश्नको जवाफ दिन सक्ने खुबी छ । आफूलाई सामान्य मानिसले भन्दा धेरै विश्वास गर्छिन् । सहयोग लिनभन्दा दिन रुचाउँछिन् । कोमलताले भरिएको मन बोकेर थुप्रै बेसहारा र एकल महिलाहरूको हक हितका लागि दरिलो पिल्लर भएर उभिन्छिन् । विशेष गरेर विपन्न परिवारका महिलाहरूको जबरजस्ती दबिएका समस्याका विषयमा आवाज उठाएर समाज सेवामा सधैँ व्यस्त हुन्छिन् । 

भन्नेबित्तिकै मेरी आमा आफ्नो अनुकूलतामा कहीँकतै हिँड्न पाउँदिनन् । उनलाई परिवार र समाजभित्रका अनेक अनेक जिम्मेवारीको भारीले बेस्सरी थिचेको छ । त्यसमाथि अझै उमेरले उकालो चढिरहेको अवस्था छ । तर मनमा आँट, विस्वास र धैर्यताले भरिएको बलियो गाँठो छ । जसले गर्दा कुनै पनि लोभ, लालच, डर, त्रासमा नपरी आफ्नै जीवनको लयमा आफूमा आइपरेका हरेक समस्याको समाधान एक्लैले गर्छिन् । 

आमाको ऊर्जाशील मन र शरीर हेर्दै हुर्किएको मेरो आँखाले सुखमा मात्तिने र दुःखमा आत्तिने बानी नभएकी मेरी आमाको मुहारमा भने एउटा छुट्टै प्रकारको पीडा महसुस गरिरहेको छु । जसलाई बुझ्न नसकेर मैले आमाको भित्री मनको घाउमा मलम लगाउन सकिरहेको छैन । तैपनि आमालाई मसँग न त गुनासो छ न त चित्त दुःखाइ नै । 

हरेक मानिसलाई बुढेसकालसम्म मन मिल्ने जीवन साथी होस् र बुढेसकालको सहारामा आफ्ना सन्तान आफूसँगै हुन् भन्ने लाग्छ । तर मेरी आमालाई त्यस्तो केही लाग्दैन । हात खुट्टा चलेसम्म आफ्ना लागि आफैँ गर्ने हो, त्यसपछि जसले जसरी सहयोग गर्छ त्यसैमा चित्त बुझाएर अन्तिम श्वास फेर्ने हो । मेरो चितामा कसले आगो लगाउला भन्ने मलाई केही चिन्ता छैन । जे हुन्छ राम्रै हुन्छ । त्यसैले आफ्नो जीवन जसरी सहज हुन्छ, त्यही लयलाई समात्नु पर्छ भन्दै सुझाव सल्लाह दिने मेरी आमा साँच्चै भन्नुपर्दा बहुप्रतिभाशाली थिइन् ।

आमालाई कलासाहित्यमा निकै रुचि थियो । आमासँग भएका थुप्रै प्रतिभालाई आमाले एउटा बन्द कोठाभित्र मात्रै सीमित राखिन् । मैलेबाहेक आमाको कलाकारितालाई कसैले देख्न पाएका छैनन् । मैले पटक पटक आमालाई आफूले लेखेका जानेका कुरालाई सबैका सामु प्रस्तुत गर्न आग्रह गर्दा आमाले सधैँ इन्कार गरिन् । तर मेरी आमाको योग्यता र क्षमता मैले चिनेको ज्यानेटको भन्दा अब्बल छ । तैपनि ज्यानेटको जस्तो चर्चामा परिनन् । किनकि ज्यानेटले जस्तो आफ्नो वास्तविक परिचय लुकाइनन् । आफ्नो चर्चा बटुल्नकै लागि भनेर आफ्नो स्वभिमान गुमाइनन् । ज्यानेटको जीवन कथा एउटा असल पाठक भएर जिन्दगीभरि पढिरहिन् । धेरै राम्रा कुरा सिकिरहिन् । ज्यानेटको अनुुसरण गरिहिन् तर ज्यानेट जस्तो हुन चाहिनन् ।

अचानक तालीको वर्षात हुन्छ । म झसङ्ग हुन्छु । कार्यव्रmममा प्रमुख अतिथिको आगमन हुन्छ । म झनै अचम्मित पर्छु । किनकि वरिष्ठ समाज सेवी गङ्गा सधैँ व्यस्त हुने गर्थिन् । साहित्यिक कार्यक्रमका हरेक निम्तामा आफू जाँदैनथिन् । जानै पर्ने मुख्य कार्यक्रममा समेत प्रायजसो मलाई पठाउँथिन् । तर आजको यस साहित्यिक कार्यक्रममा किन आइन् ? एउटा प्रश्नले मलाई कुटुक्क टोक्छ । ज्यानेट, ज्यानेटको पूर्वश्रीमान् र मेरी प्यारी आमा उर्फ प्रमुख अतिथि गङ्गा लहरै एउटै मञ्चमा एउटै सोभामा बसिरहेका थिए । यो दृश्यले एक्कासि मलाई उकुसमुकुस हुन्छ । के गरौँ, कसो गरौँ छट्पटी चल्छ । फागुनको पहिलो हप्ता भए पनि गर्मी भएको महसुस हुन्छ । पानीको प्यास लाग्छ । ओठ मुख सुक्न थाल्छन् । जुरुक्क उठेर त्यहाँबाट पानी खाने बहानामा मञ्चमै गएर आमालाई मनका अनेक प्रश्नले हिर्काएर बस्नै नदिएको गुनासो गराँै झैँ लाग्छ । 

सुटुक्क आमालाई तिमीले कहिल्यै भेट्न नचाहेको र जम्काभेटसम्म पनि नहोस् भनेको ज्यानेट तिमीसँगै छिन् कस्तो महसुस भएको छ भनेर सोध्न मन लाग्छ । ज्यानेट डिभोर्सी महिला भएको र उसको पूर्वश्रीमान् यतिबेला तिम्रो छेउमा बसेको मलाई असाध्यै मन पर्ने मेरो प्रिय पत्रकार रहेछन् भनेर जानकारी दिन मन लाग्छ । मेरो मनले जेजस्तो भनिरहे पनि मेरो शरीर र मस्तिष्कले त्यहीँ बस्न भन्छ र एउटा तस्बिर लिन आग्रह गर्छ ।

आफूसँग भएको एन्ड्रोइड मोबाल निकालेर फोटो खिच्छु । फोटोमा ज्यानेट र मेरी आमाको बिचमा भएका पत्रकारको मुहारको चमक हराएको देख्छु । पत्रकारहरूमध्येका विश्वासिला पत्रकार जनताको आवाज बोल्ने साहसी पत्रकारको खुसी हराएको देख्छु । उनी मेरा मात्रै होइनन् सबैका प्रिय थिए । 

सबैका मनका पत्रकार थिए । हेर्नमा निकै आकर्षक थिए । सबै उमेर समूहका स्वास्नी मानिस उनी भनेपछि हुरुक्क हुन्थे । लोग्ने मानिसहरू उसको ड्रेसअप र फिट्नेसका बारेमा लोभिन्थे । उसको बेला बेलामा प्रेम सम्बन्धका बारेमा गसिफहरू कफीसपहरूमा चलिरहन्थे । उनको कामप्रतिको लगाव र इमानदारिताको भने सबै प्रशंसक नै थिए । उनले अन्तरजातीय प्रेम विवाह गरेर समाजमा जातीय विभेदलाई अन्त्य गर्न चालेको कदम आज एक समाज परिवर्तनको उदाहरणीय कथा भएको छ । त्यति धेरै सङ्घर्ष गरेर विवाह गरेकी श्रीमतीले छाडेर जाँदा उसको जीवनमा आइपरेका दुःखका भेलहरूलाई कसरी सम्हाले होलान् । उसकै आँखा अगाडि ज्योतिले आफूसँगको सबै प्रेम बिर्सिएर, वास्तविक परिचय लुकाएर ज्योतीबाट ज्यानेट भई अरूसँग मिलेर दिएका अनेक मानसिक चोट कसरी सहेका होलान् । म यही सोचिरहेछु मानिसमा सहन सक्ने शक्ति कति हुन्छ होला भनेर ।

ज्योतिपछि मेरा प्रिय पत्रकारको जीवनमा आउने र जाने प्रेमका ताँतीहरू अहिले पनि उस्तै छन् । ज्योतिले छोडेर गए पनि उसले आफ्नो जीवनको प्रेमको ज्योति कहिल्यै निभ्न दिएन । उसले माया गर्नेहरूको इज्जत गर्न राम्रोसँग जानेको छ । सायद ज्योतिसँगको विछोडपछि भने अरूले उसको साँचो प्रेम पाउन सकेनन् । यो सत्यलाई उसले स्वीकार्छ र सँगै हुने र छोडेर जाने सबैलाई सम्मान गर्छ । त्यसैले ऊ मेरो मनपर्ने एक असल पत्रकार हो ।

साँच्चै प्रेमलाई बुझ्न सकियो भने बाँच्न सहज हुनेरहेछ । कोही कसैलाई घात नगरी । कोही कसैको मन नदुःखाई । दुःखैदुःखमा पनि खुसी भएर । एक्लो र अभावमा पनि सुखी भएर । जसरी मेरी आमा बाँचिरहेकी छिन् । एक महान् पुरुषको प्रेमको बिजलाई हुर्काएर । आजसम्म पनि त्यो प्रेम उसको लागि उस्तै छ, जतिबेला सारा संसार भुलेर उसका लागि समर्पित भएकी थिइन् हो त्यस्तै अमूल्य पे्रम छ । उसले आफ्नो क्षणिक खुसीका लागि अरूलाई आफ्नो नजिक बनायो । आमाको प्रेमलाई लत्यायो । आमाले उसको घृणालाई शिरमा थापिन् र त्यसैलाई बलियो ऊर्जा बनाएर कोही कसैलाई कुनै स्वार्थमा नजिक बनाइनन् ।

यति बेला एउटै मान्छेलाई वर्षौंवर्षसम्म एकोहोरो प्रेम गरिरहनु मेरो आमाको महानतालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । उसको साथबिना नै आमाले जीवनका सारा उतार चढावका खुट्किला एक्लैले पार गरिन् । न त प्रेमको बद्नाम गरिन्, न त प्रेमीको साथ नपाउँदा कुनै प्रतिशोध नै लिइन् । एकोहोरो मनको प्रेमलाई नै प्रेम गरिन् । मलाई बाबा नहुनुको अभाव महसुस हुन दिइनन् । मेरो मनमा बाबाको रहर लाग्ने टुसा नै पलाउन दिइनन् । मेरा हरेक आवश्यकतालाई पूरा गरिन् । आफ्नो नामबाट मेरो परिचयपत्र बनाइदिइन् । उज्ज्वल भविष्यको बाटो देखाइदिएर मलाई सक्षम नागरिक बनाइन् । त्यसैले हरेक वर्ष म आमाको प्रेमको नाममा एक भव्य प्रेम उत्सव मनाउँछु । ताकि हरेक प्रेमिल मनहरूले प्रेम के हो बुझ्न सकून् र मनले प्रेम गर्न सिकून् ।

उद्घोषकले कार्यव्रmम तालिका अनुसार कार्यक्रम सञ्चालन गरिरहेको थियो । म भने एउटै शब्द प्रेममा अडिएर र मनमनै प्रेमसँगका विविध प्रसङ्गमा रुमल्लिएर कार्यक्रम सकिएको घोषणा सुन्न आतुर भइरहेको थिएँ । आमासँग नयाँ नयाँ प्रश्न गरेर अघिल्ला वर्षको प्रेम उत्सवभन्दा फरक प्रेम महोत्सवको घोषणा गर्ने मनमनै तालिका बनाउँदै थिएँ । त्यतिकैमा प्रमुख अतिथिबाट ज्यानेटलाई लोकप्रिय साहित्यकारको पुरस्कार र ज्यानेटका पूर्वश्रीमान्लाई पत्रकारिता पुरस्कारबाट एउटै मञ्चमा पुरस्कृत गरिन्छ । अरूले जस्तै मैले पनि मुस्कुराउँदै तालिले बधाई दिइरहेकी हुन्छु । अघिकै छेउको साथीले मेरो कान नजिकै आएर भन्छ, “देख्यौ तिमीले आफ्नी पूर्वप्रेमिकाको हातबाट उत्कृष्ट पत्रकारिता पुरस्कार लिनुपर्ने बाध्यता– समय कति बलवान् छ है !”