• १२ मंसिर २०८१, बुधबार

शुक्लाफाँटामा घडियाल

blog

धनगढी समाचारदाता

धनगढी, चैत ८ गते । सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल गोही देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्र कसराबाट २५ वटा घडियाल शुक्लाफाँटामा ल्याइएको हो । 

स्थानान्तरण गरी ल्याइएका तीन भाले र २२ पोथी घडियाललाई निकुञ्जमा रहेको चौधर नदीमा छाडिएको छ । हरेक कुरा बुझ्नका लागि केही दिनसम्म ‘सफ्ट इन्क्लुजर’ भित्र रहने गरी नदीमा घडियाल छाडिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।

“स्थानान्तरण गरेर ल्याइएका गोहीलाई एकै पटक प्राकृतिक बासस्थानमा छोडिँदैन,” उहाँले भन्नुभयो, “हामीले ‘इन्क्लुजर’ भित्र राखेका छौँ । वातावरणलगायत सबै कुरा बुझिसकेपछि त्यसलाई फुटाएर गोही आफैँ बाहिर निस्कने छन् ।” 

नदीमा छाडिएका घडियाल पाँचदेखि छ वर्षसम्मका छन् । १५ वर्षको भएपछि बल्ल घडियालले प्रजनन गर्ने र अन्डा दिने गरेको जनाइएको छ । सन् १९८० सम्म शुक्लाफाँटास्थित महाकाली र चौधर नदीमा घडियाल गोही देखा परेको अभिलेख छ ।

जथाभाबी माछा मार्नेलगायतका कारणले यी नदीमा घडियाल देखिन छोडेका थिए । प्राकृतिक रूपमा रहेका घडियाल हराएपछि वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाँटामा पहिलो पटक स्थानान्तरण गरेर २५ वटा घडियाल गोही छोडिएको हो ।

सो मन्त्रालयले ५० वटा घडियाल स्थानान्तरण गर्ने निर्णय गरेको छ । थप २५ घडियाल अर्को वर्ष ल्याइने सूचना अधिकारी ऐरले बताउनुभयो । उहाँका अनुसार विगतमा चौधर नदी आसपास मानव बस्ती थियो । पछि निकुञ्जको पूर्वी सेक्टर विस्तार भएपछि त्यहाँबाट बस्ती हटाइयो । 

अहिले प्राकृतिक बासस्थानका रूपमा चौधर नदी एकदमै उपयुक्त भएकाले घडियाल छोड्ने काम भएको हो । “यहाँ यत्तिकै घडियाल छोडिएको हैन । विज्ञ र प्राविधिक टोलीले सबै कुराको अध्ययन गरेर घडियाल बाँच्न सक्ने निष्कर्ष निकालेपछि मात्रै स्थानान्तरण गरिएको हो,” सूचना अधिकारी ऐरले भन्नुभयो ।

चुरे क्षेत्रमा रहेका खोल्सा र महाकाली सिँचाइ आयोजना दोस्रोको पानी मिसिने चौधर नदी बासस्थानका लागि राम्रो रहेको बताइएको छ । गोहीलाई घाम ताप्न र फुल पार्नका लागि बालुवाका साथै पानीको मात्रा ठिक र आहारा प्रजातिको माछा पर्याप्त मात्रामा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । 

माछा मात्रै खाने घडियालले मानव र घरपालुवा जनावरलाई हानि, नोक्सानी नगर्ने बताइएको छ । स्वच्छ पानीमा बस्न रुचाउने घडियाल प्राकृतिक सूचक पनि मानिन्छ ।