• २७ वैशाख २०८२, शनिबार

माछापुच्छ्रेमा तेहेरो शुल्क

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ८ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले फेरि पर्यटकसँग प्रवेश शुल्क उठाउने तयारी गरेको छ । गाउँपालिकाले सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको थियो । 

कर्मचारी व्यवस्थापन र पर्यटन व्यवसायीसँग समन्वय हुँदै गरेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले केही दिनमै फेरि शुल्क उठाउन सुरु गरिने जानकारी दिनुभयो । फस्ट क्यापमा शुल्क उठाउन पालिकाले दुई कर्मचारी खटाएको छ । 

कात्तिकदेखि शुल्क लिन सुरु गरेको भए पनि पुसपछि शुल्क उठाउन रोकिएको थियो । पर्यटनको अफसिजन र व्यवसायीको विरोधका कारण रोकिएको शुल्क सङ्कलन फेरि सुरु गर्न लागिएको हो । माछापुच्छ्रेमा अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ । नेपाल सरकारले ट्रेकिङ इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) बापत विदेशी पर्यटकसँग दुई हजार र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) छुट्टै तीन हजार शुल्क लिने गरेका छन् । अहिलेसम्म हरेक विदेशी पर्यटकले पाँच हजार तिर्नु परेकोमा अब थप पाँच सय तिर्नुपर्ने छ । 

पालिकाले विदेशी पर्यटकसँग प्रतिव्यक्ति पाँच सय र स्वदेशी पर्यटकसँग एक सय रुपियाँ पर्यटन शुल्क उठाउने निर्णय गरेको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो । पर्यटकको तथ्याङ्क सङ्कलन र विभिन्न सेवाबापत शुल्क लिन लागिएको उहाँको भनाइ छ । 

माछापुच्छ्रे गाउँपालिका एक्याप अन्तर्गतकै क्षेत्रमा पर्दछ । एक्यापले उठाएको शुल्कमा गण्डकी प्रदेश सरकार र पालिकाहरूले दाबी गर्दै आएका छन् । पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा भएपछि पर्यटकलाई तेहेरो शुल्क लिँदा बामे सर्न लागेको पर्यटन क्षेत्रमा नकारात्मक असर गर्ने पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ उल्लेख गर्नुहुन्छ । उहाँले पालिकाको यो निर्णय खारेज गर्नसमेत माग गर्नुभयो ।