• १३ साउन २०८१, आइतबार

प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै

blog

दमौली (तनहुँ), चैत ७ गते । बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहजरुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।

आँबुखैरेनी गाउँपालिका-१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आउनुभएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने घटेको बताउनुभयो । पुर्ख्यौली पेसा भएकाले अहिलेसम्म छाड्न नसकेको उहाँको भनाइ छ । “पछिल्लो समय प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको छ । अहिले धेरै व्यापार घटेको छ । पेसा नै लोप हुन्छ की भन्ने चिन्ता छ ।”

प्रजापतिको परिवार २०४३ सालमा भक्तपुरको ठिमीबाट बसाइसराइ गरी तनहुँ आएको थियो । बाबु चन्द्रबहादुर प्रजापतिसँगै तनहुँ आउनुभएका उहाँले छ वर्षको उमेरदेखि नै माटाका भाँडा बनाउन सिक्नुभएको हो । माटाका भाँडा बिक्री गरी हाल वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको प्रजापतिले सुनाउनुभयो । उहाँका अनुसार निर्माण गरिएका भाँडा तनहुँका साथै लमजुङ र गोरखामा समेत बिक्री हुँदै आएको छ । 

माटोका भाँडा बनाउने भट्टाबाट रक्सी पार्ने हण्डा, मकै भुट्ने हाडी, पानी राख्ने भुड्का, गाग्री, घैँटा, धुपौरे, खोतउली, फूलका गमला, आरी, डुगुल्की, सुराइ, खुत्रुक्के, कमलदानी, कलश, पाला, दियोलगायत सामग्री बन्दै आएको छ । हाडीप्रति गोटा दुई सय, गमलाप्रति दर्जन नौ सय, गाग्री एक सय ५०, आरी दुई सय, खुत्रुक्के एक सय ५०, धुपौरे ६० मा बिक्री हुने गरेको प्रजापतिले जानकारी दिनुभयो । भाँडा तयार गर्नका लागि गोरखाबाट प्रतिट्याक्टर चिम्ट्याइलो माटो १५ हजारमा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । 

प्लास्टिकका भाँडा प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र वातावरणसमेत प्रदूषित हुने भएकाले माटोका भाँडा प्रयोग गर्नुपर्ने प्रजापतिको सुझाव छ । “भट्टामा माटो पेल्ने तथा भाँडा बनाउने मेसिन र पोल्ने भट्टा निर्माण गरी पेसालाई निरन्तरता दिँदै आएको छु । म यो पोमा सन्तुष्ट छु”, प्रजापतिले भन्नुभयो । स्थानीय सरकारले केही आर्थिक सहयोग गरिदिए व्यवसायलाई आधुनिक बनाउने योजना रहेको उहाँको भनाइ छ । रासस