• १३ साउन २०८१, आइतबार

बौद्धिक अपाङ्गता भएकालाई आवासीय विद्यालय

blog

बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि वीरेन्द्रनगर नगरपालिका–११ मा निर्माणाधीन भवन । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, चैत ७ गते । बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित आवासीय विद्यालय निर्माण थालिएको छ । सात वटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने सङ्घीय सरकारको नीति अनुरूप कर्णालीमा विद्यालय भवन निर्माण थालिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–११ मा भवन निर्माण भइरहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको छुट्टै विद्यालय छैन । 

आर्थिक वर्ष २०७८/७९ बाट बालबालिकाका लागि अपाङ्गमैत्री भवन निर्माणको काम थालिएको छ । सो भवनका लागि ११ करोड लागत अनुमान गरिएको छ । पहिलो वर्ष भवन निर्माण गर्न सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त योजनाको निरन्तरताका लागि आव २०७९/८० मा दुई करोड विनियोजन गरिएको थियो । आवासीय विद्यालयको भवन निर्माण कार्यको निरन्तरताका लागि चालु आवमा दुई करोड बजेट विनियोजन भएको जनाइएको छ ।

हालसम्म एउटा होस्टेल र एउटा विद्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले नयाँ ठेक्का सम्झौता गरेर थप भवन निर्माणको काम थालिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका इन्जिनियर हिमाल रावतले भवन निर्माण धमाधम भइरहेको जानकारी दिनुभयो । २०८० पुस २६ गते भवन निर्माणका लागि नयाँ ठेक्का सम्झौता गरिएको थियो । शिक्षा विकास निर्देशनालयले उषा कन्स्ट्रक्सन बाजुरासँग एक करोड २० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको हो । २०८१ असार १४ गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रदेशभरिकै अपाङ्गता भएका बालबालिकाले सो विद्यालयमा अध्ययन गर्ने छन् । अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारमार्फत सङ्घीय सरकारको बजेटले बौद्धिक अपाङ्गता आवासीय विद्यालय भवन निर्माण थालिएको जनाइएको छ । आव २०७८/७९ बाट भवन निर्माण कार्य थालिएको हो । 

कर्णाली प्रदेशकै गौरवका रूपमा अपाङ्गतामैत्री वातावरणमा पठनपाठन गराउने मुख्य उद्देश्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिको पठनपाठनसहित आवासको व्यवस्थापन, विभिन्न किसिमको फिजियोथेरापी सेवा सञ्चालन गर्ने मुख्य लक्ष्य रहेको छ । 

प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि उक्त विद्यालय सञ्चालन हुने छ । कर्णाली प्रदेशमा अपाङ्गता भएका ७० प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५२ हजार ६०४ जना अपाङ्गता भएका व्यक्तिमध्ये १४ हजार ९७४ जना बालबालिका छन् । कर्णालीमा ३३ वटा विद्यालयमा अपाङ्गता भएका बालबालिका पढाइन्छ । जसमा दृष्टिविहीन विद्यालय आठ, बहिरा विद्यालय १४, बौद्धिक अपाङ्गता भएका बालबालिका पढ्ने विद्यालय नौ वटा र शारीरिक र समावेशी विद्यालय एक एक छन् । 

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशका जनवकालत अधिकृत जितलाल ढकालका अनुसार ७० प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन् । भौगोलिक कठिनाइ, अपाङ्गता भएकालाई आवश्यक पर्ने सामग्री तथा पाठ्यसामग्री अभाव, शिक्षक अभावजस्ता कारणले कर्णालीमा अपाङ्गता भएका बालबालिका शिक्षाबाट वञ्चित हुनु परेको बताइन्छ ।