चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ६ गते। ताप्लेजुङमा मङ्गलबार छुट्टा–छुट्टै ठाउँमा दुई घरमा आगलागी भएको छ। प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा घर आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार फुङ्लिङ नगरपालिका–३ पाखे टोलका स्थानीय हर्कबहादुर पालुङ्वाको घर आगलागी भएको हो। पालुङ्वाको ढुङ्गा, माटो, काठ र जस्तापाताले निर्माण गरिएको तीनतले घर आगलागीबाट नष्ट भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो।
दिउँसो करिब ४ बजेतिर भएको आगलागीबाट घरमा भएको नगद ९० हजार रुपियाँ, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतको सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार घर नजिक रहेको दुईवटा पशुचौपायाको गोठसमेत जलेर नष्ट हुँदा पालुङ्वाको १५ लाख रुपियाँ मूल्य बराबरको क्षति हुन गएको छ।
यस्तै मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका सुवास नाल्बुको घरमा पनि आगलागी भएको छ। स्थानीय रानी सामुदायिक वनमा लागेको डढेलोले नाल्बुको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो। उहाँकाअनुसार ढुङ्गा र माटोले बनेको नाल्बुको घर जलेर नष्ट हुँदा करिब एकलाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ।
सुख्खा मौसमसँगै हाल एकपछि अर्को गर्दै वनमा डढेलोका घटना तीव्र भइरहेको र वनमा लागेको डढेलोले घरलगायतका संरचाहरु जलेर क्षति पुर्याइरहेको प्रहरीले जनाएको छ। फागुन महिनायता मात्र मङ्गलबार सम्ममा करिब तीन दर्जन बढी ठाउँका वनमा डढेलो लागेको छ भने डढेलो र अन्य कारणबाट यो अवधिमा डेढ दर्जन घर जलेर नष्ट भइसकेको तथ्याङ्क रहेको छ।