• १३ साउन २०८१, आइतबार

नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा : खेलकुदमन्त्री

blog

नेपाली खेलकुदबारे आफ्नो धारणा राख्दै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौँ, चैत ६ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा गएको बताउनुभएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) ले मङ्गलबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नेपाली खेलकुद एकै दिनमा नभएर चरणबद्ध रूपमा अधोगतिमा गएको धारणा राख्नुभएको हो । 

मन्त्री श्रेष्ठले खेलकुद विकासका लागि बजेट पर्याप्तता नरहेको र भएको बजेटको पनि सही रूपमा सदुपयोग नभएको बताउनुभयो । ‘‘बजेट धेरै न्यून र अपर्याप्तता छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्तता छैन । राष्ट्रिय एकतामा कमी आइरहेकोले त्यसमा काम गर्न मैले खेलकुद क्षेत्र रोजेर आएको हुँ,’’ मन्त्री श्रेष्ठले भन्नुभयो । 

उहाँले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताउनुभयो । ‘‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै विषय छन् । तर, अधिकारको हिसाबले मन्त्रालयलाई सीमित घेरामा राखिएको छ ।’’

मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल सङ्घबिच त्रिकोणात्मक आकार रहेकाले खेलकुदको विकास राम्रोसँग हुन नसकेको बताउनुभयो । 

खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । खेल सङ्घहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सङ्घहरूले आफूलाई नयाँ ढङ्गले अगाडि बढाउन सकेमात्र खेलकुदको विकास सम्भव छ । आइओसीको चार्टरभित्र रहेपनि एनओसीले नेपालको कानुनभित्र रहेर काम गर्नुपर्ने हुन्छ । तर त्यो भइरहेको जस्तो देखिन्न ।’’