• १५ वैशाख २०८१, शनिबार

सशस्त्रको गोताखोरले निकाल्यो नदीमा बेपत्ताको शव

blog

उद्धारमा खटिएको सशस्त्रको गोताखोर टोली ।

काठमाडौँ, चैत ६ गते । तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर विकको शव सशस्त्र प्रहरीको गोताखोरले चैत्र ६ गते ब्रम्हायणी नदीमा फेला पारेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने विकको चैत्र ४ गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो । 

घटनाबारे जानकारी पाएपछि नं. १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो । सो टोलीसँगै विकको खोजीको लागि नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट सात जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको  थियो । 

गोताखोरले मङ्गलबार दिउसो विकको शव सोही नदीको करिब २० फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरीका डिएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।