• १३ साउन २०८१, आइतबार

सडक सुधारपछि रानी महल जाने सडक खुल्यो

blog

रानी महल जाने ढलान गरिएको सडक । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, चैत ६ गते । सडकमा परेको खाल्टाखुल्टीका कारण सहज यात्राका लागि जोखिमपूर्ण बनेको सडक बनाएपछि पाल्पाको रानी महल जाने सडक सञ्चालनमा आएको छ । ४८ दिन सडक बन्द गरेर सडक मर्मत सुधार गरेपछि तानसेन–रानी महल सडक सञ्चालनमा आएको हो । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रानी महल जाने बाटो लुम्बिनी प्रदेश सरकारको लगानीमा मर्मत सुधार गरिएको हो । 

एकतर्फी सडक बन्द गरेर मर्मत सुधार गर्ने अवस्था नभएपछि डेढ महिना सडक बन्द गरेर जोखिमयुक्त क्षेत्रको सडक ढलान गरिएको छ । तानसेन–रानी महल सडक खण्डको बैकुन्ठे भीर नजिकैको सडक मर्मत सुधार गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । यसअघि रानी महल क्षेत्रमा जाने सडकमा परेको खाल्डाखुल्डीका कारण रानी महलसम्म जाने आउने पर्यटकहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

सडक बन्द गरेर स्तरोन्नतिको काम सकिएको र अबदेखि सडक नियमित सञ्चालनमा आएको कार्यालय प्रमुख वासुदेव भण्डारीले जानकारी दिनुभयो । गत माघ १७ गतेदेखि सडक बन्द गरेर स्तरोन्नतिको काम गरिएको थियो । 

सडक स्तरोन्नति अन्तर्गत सडक ढलान, मेशिनरी वाल निर्माण, ग्याबिङ वाल निर्माणलगायतको काम भएको प्रमुख भण्डारीले बताउनुभयो । उक्त क्षेत्रमा सडक जोखिमलाई मध्यनजर गर्दै रेलिङ् राख्ने तथा सडक चौडा बढाएर ढलान गरिएको छ । सडक मर्मत सुधार भए पनि दिनहुँ रानी महल जाने पर्यटकको यात्रा सहज हुने कार्यालयका सूचना अधिकारी श्यामकुमार श्रेष्ठले बताउनुभयो । दैनिक सयौँ पर्यटक यही सडक भएर रानी महलमा जाने गर्दछन् ।