• १३ मंसिर २०८१, बिहिबार

माडीबगरमा डेनमार्कको डिग्री र इजरायलको सिप

blog

माडी प्राङ्गारिक कृषि तथा अनुसन्धान केन्द्र प्रालि हेर्न आएका धादिङका कृषक । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

माडी (चितवन), चैत ६ गते । विदेशी विश्वविद्यालयको डिग्री र त्यहाँको सिप सिकेर फर्केका एक युवाले चितवनको माडीमा सुरु गरेको कृषि फार्म यतिबेला जिल्लाकै आकर्षक फार्ममा गनिएको छ ।

डेनमार्कबाट एग्रो बायोलोजीमा स्नातकोत्तर र हाइटेक अर्गानिक एग्रिकल्चरमा विद्यावारिधि गरेका विज्ञ डा. भानु पोखरेलले माडी नगरपालिका–४, खैरहनीमा माडी प्राङ्गारिक कृषि तथा अनुसन्धान केन्द्र स्थापना गरी तीन वर्षदेखि माडी खोलाको बगरलाई कृषिको सिकाइ केन्द्रका रूपमा विकास गर्नुभएको छ ।

बागलुङको बोहोरा गाउँमा जन्मिएका पोखरेल केन्द्रीय कृषि क्याम्पस रामपुरबाट कृषि स्नातक गर्नुभएको थियो । इजरायलमा थोपा सिँचाइलगायत कृषि प्रविधिको सिप सिक्नुभयो । डेनमार्कको आरुस विश्वविद्यालय स्नातकोत्तर र विद्यावारिधि गर्नुभएको उहाँ पढाइसँगै अनुसन्धानमा सक्रिय हुनुभयो । त्यहाँको ग्रिन एप कम्पनीमा अनुसन्धान निर्देशकका रूपमा एक दशकभन्दा बढी समय काम पनि गरेको उहाँ बताउनुहुन्छ । रासायनिक विषादीबाट अलग हुँदै प्राङ्गारिक खेतीमा प्रवेश गरेको डेनमार्कमा उहाँ अर्गानिक ग्रोइङ मेडिया, सूक्ष्म जीवाणु विकास, अर्गानिक झोल मल उत्पादन तथा अनुसन्धानमा सक्रिय रहनुभयो । 

“डेनमार्क र इजरायलमा सिकेको सिप अहिले माडीमा प्रयोग गर्दै छु,” उहाँले भन्नुभयो, “करिब २५ बिघा जमिनमा फैलिएको फार्ममा अधिकांश क्षेत्रमा फलफूल र तरकारी खेती छ । सबै क्षेत्रमा उच्च स्तर (हाइटेक) थोपा सिँचाइ प्रविधि जडान छ । पानी आवश्यक पर्ने समयमा स्वचालित रूपमा कुन बिरुवामा कति पानी आवश्यक पर्छ आफैँ सिँचित हुने व्यवस्था गरिएको छ । फार्ममा स्ट्रबेरी, मेवा, काँक्रोलगायतका फलफूल, रङ्गिन क्याप्सीकम, काउली, बन्दागोबीलगायतका तरकारी र विभिन्न प्रजातिका साग अहिले उत्पादन गरिएको छ । आवश्यकता अनुसार फार्मको क्षेत्रफल बढाउँदै जाने बताउँदै डा. पोखरेलले ड्र्यागन फल, एभोकाडो, आँप, लिची, कटहर र अम्बाका लागि छुट्टै बगैँचा तयार गर्नुभएको छ । 

फार्ममा बाख्रा, कुखुरा, हाँस र माछा मात्र होइन दुध उत्पादनका लागि गाई भैँसीसमेत पालिएका छन् । कृषि फार्मका लागि आवश्यक पर्ने मल त्यही उत्पादन हुन्छ । उहाँले पानी तैरने एजोला, गँड्यौला मल, कम्पोस्ट मल, आवश्यकता अनुसारको खाद्य पोषण र झोल मल आफैँ उत्पादन गर्नुभएको छ । 

कृषि उत्पादनसँगै फार्म स्टेका रूपमा विकासको लक्ष्य रहेको उक्त फार्ममा यतिबेला ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । फार्म स्टेमा ४० जनालाई आवासीय सुविधासहित राख्न सकिने र त्यही उत्पादित दाल, चामल, तरकारी र माछामासु प्रयोग गर्न सकिने अवस्था छ । आगामी एक वर्षभित्र फार्म स्टेमा सय जनालाई आवासीय सेवा दिन सकिने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो । डा. पोखरेल २५ बिघा क्षेत्रफलको उक्त फार्म ५० बिघा क्षेत्रफलमा विस्तार गर्ने बताउनुहुन्छ ।  उहाँको फार्ममा उत्पादित फलफूल र तरकारी चितवनको भरतपुर–२ मा रहेको महानगर फलफूल तथा तरकारी थोक बजारस्थल र भाटभटेनी सुपर मार्केटमा बिक्री भइरहेको छ । पछिल्लो केही समययता उहाँको फार्म अवलोकन गर्न कृषकहरू र सिप सिक्न कृषि इन्जिनियर आउने गरेका छन् ।