• १२ मंसिर २०८१, बुधबार

बर्सेनि घट्दै एसइईमा विद्यार्थी

blog

चौरमा बसेर परीक्षा दिदैँ विद्यार्थी । तस्बिर : प्रेमराज सिम्खडा

बुलबुले समाचारदाता

सुर्खेत, चैत २ गते । कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्याङ्क अनुसार प्रदेशमा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।

यो वर्ष प्रदेशभरबाट ३५ हजार ८०८ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यो सङ्ख्या गत वर्षको भन्दा तीन हजार १६२ ले कम हो । २०७९ सालमा ३८ हजार ९७० जनाले एसइई दिएका थिए । शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।

प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् । २०७८ सालमा सुर्खेतबाट नौ हजार १६९ परीक्षार्थी सहभागी थिए । त्यसको दोस्रो वर्ष अर्थात् २०७९ मा उक्त सङ्ख्या घटेर नौ हजार १३९ पुगेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा ७९१ जनाले कमी आएको छ । २०८० सालमा जिल्लाबाट आठ हजार ३४८ जना परीक्षार्थी एसइईमा सहभागी हुने निर्देशनालयले जानकारी दिएको छ ।

रुकुमपश्चिममा गत वर्षको तुलनामा ६२३ जना घटेका छन् । यो वर्ष रुकुमबाट तीन हजार ५९३ जना विद्यार्थी छन् । अघिल्लो वर्ष चार हजार २१६ जना थिए । २०७८ सालमा एसइई दिनेको सङ्ख्या चार हजार २३० थियो । मुगुमा यो वर्ष ५५३ जना घट्दा दैलेखमा ४७८, सल्यानमा ४०१, जुम्लामा ३२०, हुम्लामा ३९ र कालीकोटमा ३० जना घटेका छन् । गत वर्षको तुलनामा जाजरकोटमा ३८ र डोल्पामा ३५ जना परीक्षार्थी बढेका छन् । 

बिचमै पढाइ छोड्ने दर कर्णालीमा बढ्दो छ । यो वर्ष तुलनात्मक रूपमा एसइई दिने विद्यार्थीको सङ्ख्या घटेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । एक प्रदेशबाट अन्य प्रदेशमा पढ्न जाने, बिचमै पढाइ छोड्ने गरेकाले विद्यार्थी सङ्ख्या घट्दै गइरहेको निर्देशक दीपा हमालले बताउनुभयो । 


तयारी अन्तिम चरणमा

यस वर्षको एसइईको तयारी कर्णाली प्रदेशमा अन्तिम चरणमा पुगेको छ । आउँदो चैत १५ देखि सुरु हुने प्रदेशस्तरबाट गर्नुपर्ने सबै तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

शिक्षा विकास निर्देशनालयका निर्देशक हमालका अनुसार जिल्लाहरूमा उत्तरपुस्तिका र प्रश्नपत्र पुगिसकेको छ । परीक्षाका लागि आवश्यक अन्य सामग्री पनि पठाउने काम भइरहेको छ । १० वटै जिल्लामा चैत पहिलो साताभित्रै परीक्षा सञ्चालन खर्च पठाउने तयारी भइरहेको छ ।

निर्देशनालयले जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखलाई परीक्षा सञ्चालनसम्बन्धी दुईदिने अभिमुखीकरणसमेत दिइसकेको छ । परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रदेशभर १८६ वटा परीक्षा केन्द्र तोकिएको छ । तीमध्ये सबैभन्दा कम डोल्पामा चार वटा मात्रै छन् । सबैभन्दा बढी सुर्खेतमा ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।