• १३ साउन २०८१, आइतबार

छ हजार किसानलाई कार्ड वितरण गर्ने

blog

काठमाडौँ, चैत १ गते । भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोगमा किसान कार्ड वितरण सुरु गरेको छ । पहिलो चरणमा उदयपुर, सप्तरी र सिराहा जिल्लाका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई सो कार्ड वितरण गर्ने भनी दुई पक्षमा बुधबार सम्झौता भएको छ । 

केयर नेपाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच हस्ताक्षर भएपछि विभिन्न जिल्लाका छ जना महिला कृषकलाई सो कार्ड वितरण गरी शुभारम्भ गरिएको केयर नेपालका निर्देशक मोना शेर्पाले बताउनुभयो । 

किसान कार्डले किसानलाई ऋण सुविधामा पहुँच प्रदान गराउने र कृषि क्षेत्रभित्र नगदरहित कारोबारलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको निर्देशक शेर्पाले बताउनुभयो । यो किसान कार्डलाई सफल रूपमा कार्यान्वयनमा ल्याउनका लागि आरडी इनोभेटिभ सोलुसनले प्रविधिमा, राष्ट्रिय कृषक समूह महासङ्घले किसानको पहिचान, कृषि प्रसार र वित्तीय संस्था समन्वय गर्ने छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले कृषकको बैङ्क खाता खोली किसान कार्ड वितरण तथा कार्डको उपयोगिताबारे साक्षरता प्रदान गर्ने छ । 

किसान कार्डमार्फत किसानको वित्तीय संस्था, सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने विभिन्न ऋण सुविधा, छुट तथा अनुदानमा पहुँच अभिवृद्धि गर्ने आशा गरिएको निर्देशक शेर्पाले बताउनुभयो । 

यो सहकार्यले किसानलाई आफ्नो कृषि व्यवसाय विस्तार गर्न, वित्तीय साक्षरता अभिवृद्धि गर्न र जीविकोपार्जनमा सुधार गर्न आवश्यक आर्थिक स्रोतहरू उपलब्ध गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।