• १३ असोज २०८१, आइतबार

कलाशालामा १५० कलाकारको सहभागिता

blog

काठमाडौँ, चैत १ गते । ललितकलाका सबै विधाका अन्तर्राष्ट्रिय कलाकारको सहभागिता रहने ‘कलाशाला’ को तयारी पूरा भएको छ । आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले बुधबार इन आर्ट वल्र्डद्वारा काठमाडौँमा चैत २ देखि आयोजना गरिने साताव्यापी कलाशालाका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले आकार आर्ट सेन्टर र नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको संयोजनमा नेपालमा पहिलो पटक आयोजना हुने कलाशालामा ललितकलाका सबै विधाका १५० कलाकारको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार भारत, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश, इरान र ताइवानका मात्र ६८ जना कलाकार नेपाल आउने छन् ।

कलाकार भट्टराईले मूर्तिकला, हस्तकला, चित्रकला, प्रिन्ट मेकिङ, डिजिटल आर्टलगायत सबै विधाका कलाकारको सिर्जनाको बिक्रीबाट आएको रकममध्ये पचास प्रतिशत कीर्तिपुरमा सञ्चालित सफलता एचआइभी शिक्षा सदनका लागि प्रदान गरिने योजना रहेको बताउनुभयो ।

नेपाल जर्मन चेम्बर कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले ललितकला विधामा सक्रिय र समर्पित कलाकारका सिर्जना व्यावसायिक रूपमा प्रवर्धन गर्न सहयोगी हात अगाडि बढाएको बताउनुभयो । उहाँले विदेश भ्रमणका बेला त्यहाँका प्रायः परिवारले आआफ्नो घरमा कला सङ्कलन गरेको अनुभव सुनाउँदै नेपालमा पनि त्यस्तो प्रचलनको विकास भए कला र कलाकार दुवै बाँच्ने र नेपाली कला, संस्कृतिको उत्थानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

एचआइभी. सङ्क्रमित बालबालिकाको संरक्षणका लागि स्थापना भएको बेबी होमका अध्यक्ष रामकुमार पुनले कला क्षेत्रबाट पहिलो पटक समाजबाट पहिचान नपाएका र अवसरबाट वञ्चित बालबालिकाले अध्ययन गर्ने सफलता एचआइभी शिक्षा सदनले आर्थिक सहयोग पाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले एचआइभी सङ्क्रमित बालबालिकाले पहिचानसहित अध्ययन गर्न पाउन् भन्ने लक्ष्यसहित स्थापना गरिएको सो स्कुल निजी स्रोतबाट सञ्चालन भएकाले शिक्षकलगायत सबै खर्च जुटाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । 

कलाशाला अवधिभर विभिन्न विधामा स्थापित कलाकारले कला कार्यशालामा सहभागिता जनाउने छन् । यसै गरी विभिन्न कला सिर्जनाको प्रदर्शनी र विद्यार्थी एवं कला क्षेत्रका नवप्रवेशी तथा कला पारखी समीक्षकको पनि सहभागिता हुने आयोजकले जानकारी गराएको  छ ।