• ५ असार २०८२, बिहिबार

स्थानीय तहको नीति तथा कार्यक्रम

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

blog

कञ्चन गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुुत गर्नुहुँदै अध्यक्ष नवराज ढकाल । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, असार ५ गते । रुपन्देहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेका छन् । मङ्गलबार कञ्चन गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो भने बुधबार सैनामैना नगरपालिकाले नगर सभामा आव २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दुवै पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले १८ औँ गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरणतर्फ उन्मुख गराई कृषकको आयस्तर वृद्धि तथा बजारीकरण गर्न जोड दिएको उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याएको छ । व्यावसायिक कृषकका लागि तरकारी तथा विभिन्न बिउबिजन, मल, सिँचाइ र यान्त्रीकरणलगायतको प्रविधिमा अनुदानको व्यवस्था गरिएको उल्लेख छ । कार्यक्रममा एक वडा एक बाली पकेट क्षेत्र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यसै गरी अध्यक्ष ढकालले नीति तथा कार्यक्रममा कञ्चनका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण संवर्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको बताउनुभयो । बेरोजगार युवालाई उद्यमशीलतामा आत्मनिर्भर बनाउन लघु तथा साना र मझौला उद्योग स्थापनामा प्राथमिकता दिइएको छ । पिछाडिएका, विपन्न र बेरोजगार महिलालाई  स्वरोजगार बनाउन विभिन्न तालिमको व्यवस्था मिलाउने उल्लेख छ । 

त्यसै गरी मातृ स्वास्थ्य सुदृढीकरणका लागि ‘जिरो होम डेलिभरी’ को व्यवस्था गरिने उल्लेख छ भने रगत नपाएर उपचार नपाएका बिरामीलाई निःशुल्क रगतको व्यवस्था गर्ने उल्लेख छ । 

यसै गरी सैनामैना नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले एक वडा एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । त्यसै गरी घर घरमा प्राविधिक सेवा उत्पादनमा टेवा भन्ने कार्यक्रम अन्तर्गत किसानको खेतबारीमै कृषि प्राविधिक पुग्ने व्यवस्था गरिने छ । 

युवाले विदेशमा रोजगारीका क्रममा सिकेको ज्ञान र सिपको प्रयोग गरी पालिकामै व्यावसायिक घरेलु तथा साना उद्योग, पशुपालन र व्यापार व्यवसायसँग जोडिई उद्यमशीलता प्रदान गर्ने नीति ता कार्यक्रममा उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रममा कृषि उत्पादनमा बढावा दिन अनुदानमा कृषियन्त्र उपकरणको व्यवस्था गर्ने, बाली बिमा गर्न प्रोत्साहन, कृषिमा अनुदान उपलब्ध गराउने, उत्पादनको भण्डारण गर्न शीतभण्डारको व्यवस्था गर्ने, किसान सूचीकरण र किसान परिचयपत्र वितरण गरिने उल्लेख छ । पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने, धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने, कृषि सडकलाई प्राथमिकता दिने, सहकारीलाई एकीकरण गरी निष्क्रिय सहकारीलाई खारेज गर्ने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सैनामैनामा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।