• ५ असार २०८२, बिहिबार

बढे सर्पदंशका बिरामी

blog

नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचाररत सर्पदंशका बिरामी । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, असार ५ गते  । सर्लाहीसहित तराईका जिल्लामा सर्पदंशका बिरामीको चाप बढेको छ । गर्मीसँगै यहाँका सर्पदंश उपचार केन्द्र र अस्पतालमा विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामीको चाप ह्वात्तै बढेको हो । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको नवलपुरमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै १०२ जना सर्पदंशका बिरामीको उपचार भएको छ । 

अत्यधिक गर्मी भएको जेठमा ४१ जना पुरुष, ५१ जना महिला र १० जना बालबालिका गरी १०२ जना बिरामीको उपचार गरिएको नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगरनाथ यादवले जानकारी दिनुभयो । उपचार केन्द्रमा यसअघि वैशाखमा ३९ जना सर्पदंशका बिरामी भर्ना भएका थिए ।

केन्द्रका इन्चार्ज यादवका अनुसार असार लागेपछि सर्पदंशको घटना झनै बढेको छ । असार १ गते एकै दिन सर्पले डसेका सात जना बिरामी भर्ना भएका थिए । असार १ गतेदेखि बुधबार मध्याह्नसम्ममा १४ जना सर्पदंशका बिरामी भर्ना भइसकेका छन् । प्रादेशिक अस्पताल मलङ्गवामा पनि सर्पदंशका बिरामीको चाप बढिरहेको अस्पतालले जनाएको छ । 

वैशाखमा १२५ जना सर्पदंशका बिरामी भर्ना भएका प्रादेशिक अस्पताल मलङ्गवामा जेठमा २१२ जनाको उपचार भएको अस्पतालमा कार्यरत नर्स सङ्गीता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा असार लागेपछि बुधबार बिहानसम्ममा २८ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । 

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित नगर अस्पताल बरहथवामा वैशाखमा पाँच जना, जेठमा १३ जना र असारमा बुधबार बिहानसम्म दुई जना सर्पदंशका बिरामीको उपचार गरिएको अस्पतालका इन्चार्ज नरेन्द्रकुमार साहले बताउनुभयो । पानी परेर जमिन तातेसँगै विषालु सर्पको बिगबिगी बढ्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ । 

सर्पदंशको उपचार हुने सर्लाहीका नवलपुर, मलङ्गवा र बरहथवाका सर्पदंश उपचार केन्द्र तथा अस्पतालमा आइसियु र भेन्टिलेटरबिनै ‘एन्टी स्नेक भेनम’ को भरमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा ल्याइएका सर्पदंशका बिरामीलाई आइसियु र भेन्टिलेटरको अभावमा वीरगन्ज, जनकपुर वा भारततर्फ रिेफर गर्ने गरिएको छ ।