• ५ असार २०८२, बिहिबार

घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै

blog

बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका गोही ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), असार ५ गते । बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको गोही प्रजनन केन्द्रमा यस वर्ष हालसम्मकै सबैभन्दा बढी ११५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । गोही प्रजनन केन्द्रमा रहेका चार वटा पोथी घडियाल गोहीले बच्चा कोरलेका हुन् । 

विश्वबाट नै लोप हुन थालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालन छ । गोही प्रजनन केन्द्र सञ्चालन भएको ४२ वर्षपछि यस वर्ष सबैभन्दा बढी गोहीका बच्चा जन्मिएका हुन् । गत हप्तादेखि गोहीका बच्चा निस्कन थालेको निकुञ्जले जनाएको छ । प्रजनन केन्द्रमा गत वर्ष ५२ वटा बच्चा जन्मिएका थिए । जसमध्ये ३५ वटा बच्चा बाँचेका छन् । अघिल्लो वर्ष २०८० मा ८० वटा बच्चा जन्मेकोमा ६४ वटा मात्र बाँचेका थिए पनि २०७९ सालमा ६० वटा बच्चा जन्मेकामा ३८ वटा बच्चा बाँचेका थिए । हालसम्मको तथ्याङ्क हेर्दा जन्मेका बच्चामध्ये ६० देखि ७० प्रतिशत बच्चा मात्र बाँचेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तबहादुर मगरले बताउनुभयो । 

प्रजनन केन्द्र स्थापना भएको ४२ वर्षमा १७५ वटा गोहीका बच्चा हुर्किएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्रजनन केन्द्रमा २० वटा तीन वर्षमाथिका र १३२ वटा तीन वर्षमुनिका बच्चा रहेका छन् । यसअघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी जम्मा २३ वटा बच्चालाई प्राकृतिक वासस्थानमा छोडिएको थियो । 

प्रजनन केन्द्रमा हुर्काएर तीन वर्ष पुगेपछि प्राकृतिक वासस्थानमा घडियाल गोहीका बच्चा छोडिने गरिन्छ । गोही प्रजनन केन्द्रमार्फत जन्मेका बच्चा हुर्काएर प्राकृतिक स्थानमा बाँच्न सक्ने भएपछि नदीमा छोडेर गोहीको सङ्ख्या वृद्धि गर्ने योजना रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो । बर्सातपछि तीन वर्ष पुगेका गोहीका बच्चालाई उनीहरूको अवस्था हेरेर प्राकृतिक वासस्थानमा छाडिने उहाँले बताउनुभयो । 

२०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा २०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो भने २०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक वासस्थानमा छाडिएको थियो । प्रजनन केन्द्रमा हाल दुई भाले र चार पोथी गरी छ वटा प्रजननयोग्य घडियाल गोही रहेका छन् ।

घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको वासस्थान व्यवस्थापन गर्ने, चोरीसिकार नियन्त्रण गर्ने खालका काम भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ ।