• १३ साउन २०८१, आइतबार

सामूहिक खेती गर्दै मनाङी महिला

blog

मनाङी महिला कृषि खेतीमा व्यस्त ।

यदुप्रसाद भट्ट

मनाङ, फागुन ३० गते । मनाङी महिलाले सामूहिक खेतीमा जुटेका छन् । नासोँ गाउँपालिका –१ ताल गाउँका महिला सामूहिक खेतीमा लागेका हुन् ।

घरायसी खाँचो पनि टर्ने तथा आफू आत्मनिर्भर पनि हुने भएकाले यहाँका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । सामूहिक खेतीबाट आत्मनिर्भर पनि बन्दैगएका छन् । 

मनाङमा अन्य खेतीको तुलतामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने गरिन्छ । त्यही भएर पनि यहाँका महिला व्यावसायिक आलु उत्पादनबाट आत्मनिर्भर बन्दैगएको स्थानीय तिरकाशी घलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौं ।’ 

आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि ११ जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा आलुखेती गरिएको घलेले बताउनुभयो । सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको घलेको भनाइ छ । उहाँले भन्नुभयो, ‘यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौं । उत्पादन हुन थालेपछि आलुको बजारमा माग बढिरहेको छ । उत्पादित आलु यहीँ खपत भइरहेको छ ।’

जिल्लाका अन्य क्षेत्रमा भने सामूहिक खेती गरिएको छैन । एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिक रूपमा काम थालिएको अर्का कृषक कान्छी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ ।’ 

मनाङमा उत्पादित आलुको माग ठुला सहरमा भइरहेको भन्दै गुरुङले मागअनुसारको उत्पादन हुन नसकेको बताउनुभयो । सामूहिक खेती सुरु गरेसँगै मनग्य आम्दानी हुन थालेपछि कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आम नागरिकमा पुगाउन सकिएको उहाँको भनाइ छ ।

आलुमा आत्मनिर्भर मनाङले आन्तरिक मागलाई जसोतसो थेगे पनि बाहिरको मागलाई पूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । तैपनि यतिबेला आलु रोप्ने सिजन भएकाले किसानलाई बारीमै गएर आलु रोप्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कसरी आलु लगाउँदा बढी उत्पादन हुन्छ । मलको मात्रा, चिस्यानको अवस्था र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका छौं ।’ गैरेका अनुसार यहाँ बढी उत्पादन हुने खेतीलाई ज्ञान केन्द्रले पनि प्राथमिकता दिँदैआएको छ । 

पालिका र ज्ञान केन्द्रको समन्वयमा कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न अनुदानको व्यवस्थासमेत गरिएको भन्दै यहाँका किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

हिउँद लागेसँगै जाडो छल्न काठमाडौं, पोखरालगायत शहर झरेका यहाँका किसान अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त भएका नासाँे गाउँपालिका–५ का वडा सदस्य फूलमाया विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष समयमा नै हिउँ परेकाले जमिन गलेको छ । अहिले खेतीका लागि समय पनि उपयुक्त भएकाले अधिकांश खेतीपातीमा व्यस्त हुन थालेका छौं ।’

फूलमाया, तिरकाशी र कान्छी त केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै यहाँका महिला आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले उत्पादित आलु यही खपत हुने किसानहरुको भनाइ छ ।  

गाउँ फर्किएर जौ, गहुँ, आलु, उवा, करु, फापरलगायत खेती गर्न किसान व्यस्त हुन थालेका वडा सदस्य विकको भनाइ छ । नासोसँगै चामे गाउँपालिकामा पनि आलु लगाउन भ्याइनभ्याइ रहेको विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष समयमा नै हिउँ परेकाले कृषि पेसा गर्नेलाई सहज भएको छ । 

जमिन भिजेकाले सिँचाइको समस्या छैन । यति बेला पालिकाभरिका किसान आलु रोप्न व्यस्त छन् ।’ नासोँका ओडार, तिल्चे, नाचै र ताचै, थोचेमा बढी आलु फल्ने क्षेत्र भएको नासोँ –५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो ।