• १३ असोज २०८१, आइतबार

दुई नयाँ नाटक मञ्चनको तयारी

blog

काठमाडौँ, फागुन २९ गते । मण्डला थिएटरमा शुक्रबार नयाँ नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ । चैत १८ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन प्रदीपकुमार चौधरीको रहेको छ ।

सोमबार पोस्टर सार्वजनिक गर्दै निर्देशक चौधरीले नयाँ मञ्चनबारे जानकारी दिनुभयो । बिदेसिन बाध्य युवाको कथावस्तुमा नाटक तयार पारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावका कारणले या कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेका कारण नाटकको कथावस्तु पनि त्यही सेरोफेरोमा तयार पारिएको हो । नाटकलाई निर्देशक चौधरीले बिदेसिनुपर्ने बाध्यताका कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्ताबेजका रूपमा व्याख्या गर्नुभएको छ । नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका रहेको छ ।

उबुर उबुर टिक्की कथा घेराको नयाँ प्रस्तुति ‘उबुर उबुर टिक्की’ फागुन २४ गते बङ्गलादेशको जेसोरमा साउथ एसियन थिएटर फेस्टिभलमा मञ्चन भएको छ । नाटक सुदाम सिकेको परिकल्पना र निर्देशनमा बनेको हो । यसमा कलाकारहरू आकाश नेपाली, विनिता गुरुङ, सरिता कठायत, निष्ठा त्रिपाठीलगायत रहेका छन् । यो नाटक काठमाडौँमा चाहिँ चैत २ गतेबाट दुई हप्ताका लागि मञ्चन गरिने छ ।