• २७ भदौ २०८१, बिहिबार

सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सलाई एक्स्ट्राटेक क्रिकेटको उपाधि

blog

प्रतियोगिताको उद्घाटन गरिँदै ।

काठमाडौँ, फागुन २८ गते । सन् २०१४ वर्ल्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।

तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने उक्त प्रतियोगिता भएको हो । चार टोली सहभागी प्रतियोगिताको फाइनलमा सन् २०१४ वर्ल्ड लिजेन्डले रेस्ट अफ नेपाललाई १७ रनले हरायो ।

सन् २०१४ वर्ल्ड कप लिजेन्डको कप्तानी पारस खड्का र रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गर्नुभएको थियो । दुवै नेपाली क्रिकेट टोलीका आ–आफ्ना समयका कप्तान हुनुहुन्छ । एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमवार पूर्वकप्तानद्वय फाइनलमा एक अर्काको प्रतिद्वन्द्वी बननुभएको थियो । 

० ओभरको खेलमा सन् २०१४ वर्ल्ड  कप लिजेन्डले १०२ रनको विशाल लक्ष्य दियो । जवाफी ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लाक्पा लामाले २० रन जोड्दा उनिल श्रेष्ठले १८ रन र सीता रानामगरले १२ रनको योगदान दिनुभयो ।

अन्य ब्याटर सस्तै आउट भएपछि रेस्ट अफ नेपालले लक्ष्य भेटाउन सकेन । सन् २०१४ वर्ल्ड कप लिजेन्डको बलिङमा सामसङ जंग थापाले दुई ओभरमा चार विकेट लिनुभयो । शक्ति गौचन र बद्री पंगेनीको नाममा समान दुई विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सले निर्धारित ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल बनाएको थियो । २०१४ वर्ल्ड कप लिजेन्डका कप्तान पारस खड्काले १२ बलमा ३९ रन बनाउनुभयो ।

ओपनर वीरेन्द्र शाहले २९ रन र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिनुभयो । रेस्ट नेपालका लाक्पा लामाले चार विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सक्नुभएन । राजकुमार प्रधान र दीपेन्द्र चौधरीको नाममा समान एक विकेट रह्यो ।

यसअघिका खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई १६ रन र सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सले १९९६ लिजेन्ड्सलाई पाँच विकेटले हराउँदै उपाधि भिडन्त तय गरेका हुन् ।