• १३ असोज २०८१, आइतबार

'रङ्ग-ए-गजल' विमोचन

blog

डा. कृष्णजंग राणाको कृति ‘रङ्ग–ए–गजल’ को विमोचन गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २७ गते । बाँकेका उर्दू साहित्यकारहरुको संस्था ‘गुल्जारे अदब’ नेपालगन्जको आयोजनामा यहाँ डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग-ए-गजल’ को विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न गरिएको छ । 

वरिष्ठ उर्दू साहित्यकार अब्दुल लतिफ ‘शौक’ को अध्यक्षता तथा समाजसेवी, उद्योगपति पशुपतिदयाल मिश्रको प्रमुख आतिथ्यमा कृति विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न भएको हो।

गुल्जारे अदबका सचिव मुस्तफा कुरैशी ‘अहसन’ द्वारा सञ्चालित सो कार्यक्रममा उद्योगपति एवं समाजसेवी मिश्रले डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग–ए–गजल’ को विमोचन गर्नुभयो । सो अवसरमा वरिष्ठ शायर अब्दुल लतिफ शौक, विष्णुलाल कुमाल, मौलाना रफिउद्दीन अन्सारी भारतीय साहित्यकार शाहनवाज खान, रोशन जमीरलगायतले समिक्षात्मक मन्तव्य राख्दै डा. राणाले ‘रङ्ग–ए–गजल’ लेखेर उर्दू साहित्यको ठुलो सेवा गर्नुभएको बताउनुभयो ।  

उक्त कार्यक्रममा साहित्यकारहरु शौक, सैय्यद अशफाक रसुल हाशमी, मुस्तफा हसन कुरैशी, मोहम्मद आरिफ अन्सारी, विष्णुलाल कुमाल, मेराज अहमद हिमालय, मौलाना रफिउद्दीन अन्सारी भारतीय साहित्यकार शाहनवाज खान, रोशन जमीरलगायतले गजल वाचन गर्नुभएको थियो । 

कार्यक्रममा संविधानसभा सदस्य अब्दुल हमीद सिद्दीकी, डाक्टर उमेर अहमद सादिक, मोहम्मद जमील हाश्मी, राशिद कमाल, बब्बु मिर्जा, रब्बानी, हाजी जाकिर हल्वाईलगायत करिब २० जना साहित्यकारको उपस्थिति थियो । ‘गुल्जारे अदब’ ले हरेक महिनामा एक पटक मासिक गजल गोष्ठी नियमित गर्दै आएको सो संस्थाका सचिव मुस्तफा कुरैशीले बताउनुभयो ।