• ५ असार २०८२, बिहिबार

पुल निर्माण हुन नसक्दा जोखिम मोलेर यात्रा

blog

शक्तिखोर फिसलिङ सडकको रिग्दीखोलामा निर्माणाधीन पुलको पिल्लर । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल

चितवन, असार ५ गते । सङ्घीय सरकारले बजेट निकासा नगर्दा चितवनको शक्तिखोर फिसलिङ ग्रामीण कृषि सडकको रिग्दी खोलाको पुल निर्माण हुन नसक्दा जोखिम मोलेर स्थानीयहरू यात्रा गर्न वाध्य भएका छन् ।  

पूर्वी चितवनको शक्तिखोरदेखि पृथ्वी राजमार्गअन्तर्गत फिसलिङ पुग्ने सडकको रिग्दी खोलामा पुल समयमा नबन्दा जोखिम मोलेर यात्रा गर्न वाध्य भएको हो । इच्छाकामना गाउँपालिका–२ का अध्यक्ष पन्चराम चेपाङले पुल नहुँदा वर्षामा ज्यान जाने खतरा रहेको बताउनुभयो । 

यही खोला भएर वारपार गर्नुपर्छ, उहाँले भन्नुभयो, “वर्षातमा खोला बढेपछि कसरी यात्रा गर्नु उहाँले भन्नुभयो । पालिका कार्यालय जानलाई समस्या पर्दछ । विद्यालय जान आउन विद्यार्थी, शिक्षकलाई समेत पुल नहुँदा समस्या परेको छ ।”  

चार वर्षमा सम्पन्न गर्नेगरी २०७८ माघ १६ गते निर्माण गर्नेगरी सम्झौता भएको पुलको दुई वटा पिल्लर मात्र निर्माण भएको छ । सम्झौताअनुसार २०८२ जेठ ३० गते सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने उल्लेख गरिएको भए पनि सङ्घीय ससर्तमार्फत आउने बजेटबाट निर्माण थालिएको पुलको काम रकम अभावकै कारण हुन नसकेको स्थानीयको गुनासो छ ।    

पूर्वाधार विकास कार्यालय भरतपुरका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार चौधरीले सङ्घीय सरकारले बजेट समयमा नदिएको कारण काम हुन नसकेको जानकारी दिनुभयो । ३५ मिटर लम्बाइ भएको पुल दोहोरो सवारी साधन सञ्चालन गर्न मिल्ने ८.४० सेमी चौडाइ रहेको छ । तीन करोड ८८ लाख ११ हजार ६९५ रुपियाँको लागतमा निर्माण गर्नेगरी रायमाझी लुम्बिनी जेभीले ठेक्का पाएको थियो । 

प्रत्येक वर्ष थोरै रकम निकासा गर्ने भएको कारण काम त्यहीअनुसार हुँदै आएको छ । गत वर्ष एकातर्फको पिल्लर निर्माण भएको थियो । अहिले अर्को भागको पिल्लर निर्माण सम्पन्न भएको छ । बजेट निकासा गर्ने सुनिश्चित्ता भएपछि मात्र ठेकेदारले काम गर्ने तयारी गरेको कार्यालय प्रमुख चौधरीले भन्नुभयो । 

काम गरेर पैसा नपाउने अवस्था भएको कारण निर्माण कम्पनीले काम गर्न सकेको छैन । समयमा काम सम्पन्न नभएपछि म्याद थपको प्रक्रिया अघि बढेको कार्यालयले जानकारी दिएको छ । 

अहिलेसम्म निर्माण कम्पनीले काम गरेवापत एक करोड ४४ लाख ९९ हजार ४२५ रुपियाँ भुक्तानी भइसकेको बताइएको छ । सङ्घीय ससर्तमार्फत आउने बजेटबाट भुक्तानीमा समस्या भएका कारण जिल्लामा निर्माण सम्पन्न भएको संरचनाको अझै रकम पाएका छैन । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर टाडीबाट शक्तिखोर, उपरदाङगढी हुँदै रिग्दीखोला तरेर पृथ्वी राजमार्गअन्तर्गत फिसलिङ निस्कने ग्रामीण कृषि सडक निर्माण गरिएको छ । यो सडकको शक्तिखोर खोला र रिग्दीखोलामा पुल निर्माण गर्नुपर्ने रहेको थियो । 

शक्तिखोलामा पुल निर्माण सम्पन्न भएर पाँच महिनादेखि सञ्चालनमा आएको छ । रिग्दीखोलाको पुल निर्माण पूरा भएपछि साना तथा मझ्यौला सवारीसाधन मुग्लिन नारायणगढ सडक खण्डको विकल्पको रूपमा यो सडक रहेको मानिएको छ । ४५ किलोमिटरको यो सडकमा कालोपत्रे भइसकेको छ । पुल निर्माण हुने स्थान र पहिरो जाने सम्भावित केही स्थानमा मात्र कालोपत्रे गर्न बाँकी छ ।  

सौरहाको बाघमारा दोभानमा निर्माण भएको पुलको रकम अझै निर्माण कम्पनीले भुक्तानी नपाएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । ५० मिटर लम्बाइको पुल ७ करोड ८७ लाख ४७ हजार ५४० रुपियाँमा ठेक्का भएको थियो । निर्माण कम्पनीले २०८१ पुस ५ गते निर्माण पूरा भएर हस्तान्तरण गरिसके पनि अहिलेसम्म भुक्तानी नभएको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । निर्माण कम्पनीले एक करोड ७ लाख रुपियाँ लिन बाँकी रहेको छ । भुक्तानी नपाउँदा ठेकेदार कम्पनीका प्रतिनिधि धेरै पीडामा रहेको आफूलाई बताएको जानकारी दिनुभयो ।