सुजल श्रेष्ठ
प्युठान, जेठ ५ गते । गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले जिल्लाका विभिन्न व्यापारिक क्षेत्रहरुमा पुगेर नापतौल शिविर सञ्चालन गरेको छ ।
प्युठान उद्योग वाणिज्य सङ्घको सहजीकरणमा भएको शिविरमा ढक, तराजु, लिटर, मिटरलगायतका नापतौलसम्बन्धी औजारहरुको चेकजाँच तथा नवीकरण गरिएको हो । जिल्लाको दरभान, बड्डाँडा, जस्पुर, भिंगृ, दाखाक्वाडी, बिजुवार, बाग्दुलामा सम्बन्धित बजार क्षेत्रको सहजीकरणमा शिविर सञ्चालन गरिएको प्युठान उद्योग वाणिज्य संघले जनाएको छ ।
शिविरले व्यवसायीहरुलाई नापतौलको जाँच गराउन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हटेको सङ्घका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो । प्रत्येक वर्ष जिल्लाका सबै प्रमुख व्यापारिक क्षेत्रहरुमा शिविर सञ्चालन गर्न कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको नापतौलका सामग्री प्रयोगमा गरी दण्ड तथा जरिवानाबाट बच्न शिविरले उद्योगी व्यवसायीहरुलाई सुविधा पुगेको सङ्घका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो ।