• १३ साउन २०८१, आइतबार

तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

blog

मकवानपुर, फागुन २५ गते । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।

आयोजनाले पर्साको वीरगन्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ । आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी दुई सय दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ । 

आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगन्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको माग वृद्धि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताउनुभयो ।

उहाँका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगन्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबिच सहकार्य र प्राविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ । यसैगरी, आयोजनाले मधेसका चार जिल्ला र बागमतीको मकवानपुरका गरी करिब २८ हजार चार सय किसानलाई सो दूध खरिद गरेबापत मासिक तीन करोड १० लाख रकम भुक्तानी गर्ने गरेको प्रमुख खनालले बताउनुभयो ।

यसै गरी, आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय किलो, पनिर चार सय किलो र मख्खन पाँच सय किलो उत्पादन गर्दै आएको छ । आयोजनाले मिठाईतर्फ पेडा र लालमोहन दैनिक एक हजार दुई सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौँका उपभोक्ताको मागबमोजिम मिठाई, पेडा र लालमोहन दैनिक आठ सय कार्टुन पठाउँदै आएको सो आयोजनाले जनाएको छ । 

गत साउन र भदौको तुलनामा स्थानीय बजारमा दूधको माग कम हुँदा अहिले दैनिक दुई हजार लिटर दूध खरिदमा कटौती गरेको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुर गरी एक सय ५० व्यक्ति कार्यरत छन् । रासस