• १३ साउन २०८१, आइतबार

कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताह सुरु

blog

भेरीगङ्गा (सुर्खेत), फागुन २५ गते । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह सुरु गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोगलाई घटाउन बिहीबारदेखि एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरिएको हो । 

सप्ताह कार्यक्रमको प्रारम्भ गर्दै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशलाई ‘अर्ग्यानिक’ प्रदेश बनाउने प्रदेश सरकारको योजना कार्यान्वयन सुरु भएको बताउनुभयो ।

पछिल्लो समय मुटु, मिर्गौलाका बिरामी बढ्दै गएको उल्लेख गर्दै यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माले बताउनुभयो । “मुटु र मिर्गौलासँगै क्यान्सरका बिरामी बढिरहेका छन्, यसको प्रमुख कारण भनेको रासायनिक विषादीको प्रयोग र त्यसबाट उत्पादन भएको खाद्य वस्तु हो, त्यसैले विषादीको प्रयोगलाई घटाउन अभियान नै चलाएका हौँ”, मन्त्री शर्माले भन्नुभयो ।

उहाँले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँ-गाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । अर्ग्यानिक प्रदेश बनाउने कर्णाली सरकारको सङ्कल्पलाई अब व्यावहारिक कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ छ । यसैगरी, मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख गर्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउन सके देशलाई नै सिकाइ हुने उल्लेख गर्दै विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्ने बताउनुभयो । सप्ताहव्यापी कार्यक्रममा जनचेतनामूलक प्रचारप्रसार, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो । उहाँले विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रासस