• १६ भदौ २०८१, आइतबार

गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २४ गते । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २५ गते शुक्रबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत प्रमीला गौतमले बिहीबार प्रकाशित गर्नुभएको प्रेस विज्ञप्तिमा संविधानको धारा एक सय त्रियासीको उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको उल्लेख छ । गएको फागुन ६ गते मन्त्रिपरिषद्को सिफारिस प्रदेश प्रमुख गुरुङले फागुन १६ गतेबाट हिउँदे अधिवेशन आह्वान गर्नुभएको थियो । 

यसपालिको हिउँदे अधिवेशनबाट दुई विधेयक पारित भएका छन् । प्रदेशसभाको सोमबारको बैठकले गण्डकी प्रदेशमा बिउँबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । 

यो अधिवेशनमा तीन वटा बैठक भएका छन् । सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी सरकार अहिले अल्पमतमा छ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसंहार गर्ने सम्बन्धमा बनेको विधेयक र गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा छलफलका क्रममा थिए । 

सरकारले मङ्गलबार प्रदेश सभामा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको छ । स्थापनादेखि हालसम्म गण्डकी सरकारले ६८ ऐन, कानुन बनाएको छ ।