• १६ भदौ २०८१, आइतबार

सामुदायिक विद्यालयका शिक्षकले अन्यत्र पढाउन नपाइने

blog

कमल गाँउपालिकको श्री सिद्धदेवी प्राथमिक विद्यालय ।

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन २४ गते । झापाको कमल गाउँपालिकाले विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई कारबाही गर्ने भएको छ । विद्यालय समयपछि अन्य विद्यालयमा पढाउन पनि अनुमति लिएर मात्र जान पाउने भन्दै सामुदायिक विद्यालयहरूलाई परिपत्र गरेको हो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अन्यत्र पढाउने गरेको गुनासो आउन थालेपछि यसको नियन्त्रणका लागि यो निर्णय गरिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभएको छ । आफू खुसी अन्यत्र विद्यालयमा गएर पढाउन नपाइने स्पष्ट व्यवस्था रहेको उहाँको भनाइ छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको सिफारिससहित पालिकाबाट समेत अनिवार्य अनुमति लिएर मात्र विद्यालय समय बाहिर पढाउन जान पाउने शिक्षा समितिले निर्णय गरेको उहाँले जनाउनुभयो । यसबाट विद्यालय समयभित्र शिक्षकहरू जिम्मेवार रूपमा रहनुपर्ने दायित्वबोध गराउन खोजिएको उहाँले बताउनुभयो ।

पालिका भित्रमा रहेका कुनै पनि विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य रूपमा स्थानान्तरण प्रमाण र लब्धाङ्क पत्र संलग्न गरेर मात्र विद्यार्थी भर्ना गर्न पनि गाउँपालिकाले निर्देशन दिएको छ । शिक्षा क्षेत्रमा धेरै विकृतिहरू रहेकाले यसलाई हटाउन यस प्रकारको निर्णय लिनु परेको अध्यक्ष राईले जनाउनुभएको छ ।

यसैगरी संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा शिक्षा नियमावली अनुसार १० प्रतिशत छात्रवृत्ति दिए नदिएको पनि जाँच्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थी तथा अभिभावकको सम्पूर्ण विवरण सहित छात्रवृत्ति प्रदान गरिएकाहरूको विवरण गाउँपालिकाले मागेको छ ।