• २४ वैशाख २०८१, सोमबार

साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भारतका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २४ गते । साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको एकपक्षीय खेलमा भारतले पहिलो हाफमा ६ र दोस्रो हाफमा चार गोल गरेको थियो । भारतको जितमा पर्ल फर्नान्डेस र गुर्लिन करले दुई दुई गोल गर्नुभयो । अनिता डुंगडुंग, अनुष्का कुमारी, विनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक एक गोल थप्नुभयो । भारतले अर्को गोल नेपालबाट आत्मघाती उपहार पाएको थियो ।

उपाधिका लागि भारतले आइतबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना बनाएको थियो । तर अन्तिम खेलमा भारतसँग नमिठो हार खेपेपछि नेपाल बाहिरिन बाध्य बन्यो ।

यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले हराएको थियो । दोस्रो खेलमा भने भारत बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । लगातार जित निकालेको बङ्गलादेश यसअघिनै फाइनल पुगिसकेको छ । लिग चरणको अन्तिम खेलमा बङ्गलादेश र भुटानबिच शुक्रबार प्रतिस्पर्धा हुनेछ । भुटान यसअघिनै प्रतियोगिताबाट बाहिरी सकेको छ ।