• ८ असार २०८२, आइतबार

क्यानाडा टी–२० विश्वकपमा छनोट

blog

तस्बिर : आइसिसी ।

काठमाडौँ, असार ८ गते । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ ।

अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलमा बहामासलाई सात विकेटले हरायो । क्यानडाले लगातार पाँचौँ जित निकाल्दै १० अङ्कसहित शीर्षस्थान बनायो ।

अमेरिकी क्षेत्रबाट एक टोली छनोट हुनेमा अमेरिका अघिल्लो विश्वकपको सुपर आठमा रहँदै स्वत: छनोट भइसकेको छ । जितका लागि बहमासले प्रस्तुत गरेको ५८ रनको लक्ष्य पछ्याएको क्यानाडाले ५.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । 

क्यानाडाका लागि दिलप्रित बाजवाले अविजित ३६ र हर्ष थाकरले १४ रन बनाउनुभयो । बलिङमा बहमासका लागि केर्भोन हिन्ड्सले दुई तथा फिस्टुस बेनले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहमासले १९.५ ओभरमा सबै विकेटको क्षतिमा ५७ रन बनाएको थियो । 

बहमासका लागि जाभिली गिलिमोरले १४ र जोनाथन ब्यारीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङमा क्यानाडाका लागि कलिम साना र शिभम शर्माले तीन तीन विकेट लिनुभयो । यस्तै कप्तान निकोलस किर्टनले दुई तथा साद बिन जफरले एक विकेट झार्नुभयो । 

क्यानाडाले २० टोली सहभागी रहने विश्वकपमा १२ टोलीसँगै स्थान बनाएको हो । यसअघि सहआयोजक भारत र श्रीलङ्कासँगै अफगानिस्तान, अस्टेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले स्थान बनाइसकेका छन् । 

अब विभिन्न क्षेत्रबाट आउने सात टोलीको टुङ्गो लाग्न बाँकी छ । जसमा युरोप र अफ्रिकाबाट दुई दुई तथा एसियाबाट तीन टोली छनोट हुने छन् । एजेन्सी