• १३ साउन २०८१, आइतबार

कृषि अनुसन्धानमा नेपाल–कोरिया सहकार्य

blog

काठमाडौँ, फागुन २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दक्षिण कोरियासँग प्रविधि विकासमा सहकार्य गर्ने भएको छ । 

दक्षिण कोरियाबाट आउनुभएका छोरोन काउन्टीका मेयर लिन हुयङ जोङसँग भएको छलफलबाट सो सहकार्य गर्ने कृषि मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । 

खुमलटारस्थित नार्कमा दुई पक्षबिच भएको छलफलमा कृषि र पशुपालनको क्षेत्रमा उन्नत प्रविधिका लागि सहकार्य गरिने सहमति भएको नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । दक्षिण कोरियाले पशुपालन तथा कृषि क्षेत्रमा गरेको प्रविधि विकासबाट नेपालका वैज्ञानिकले पनि फाइदा लिनुपर्ने उल्लेख गर्दै त्यसका लागि छोरोन काउन्टीसँग सहकार्य हुने उहाँले बताउनुभयो । 

नेपाल र दक्षिण कोरियाले कृषि तथा पशुपन्छी क्षेत्रमा गरेको अनुसन्धानका विविध पक्षमा छलफल गर्दै एक अर्कासँग सहयोग र सहकार्य गर्ने छलफल भएको नार्कले जनाएको छ । छेरोन काउन्टीका मेयर लिन ह्युङ जोङले दुवै पक्षले कृषिमा गरेका प्रगतिलाई एकापसमा आदानप्रदान गरी सिक्न र सिकाउनुपर्ने बताउनुभयो । ज्ञानको आदानप्रदान भयो भने दुवै देशको कृषि क्षेत्रमा महत्वपूर्ण फाइदा हुने उहाँले बताउनुभयो । 

छलफलमा नार्कको अनुसन्धान र उपलब्धिबारे प्रस्तुति दिनुका साथै टोलीले नार्कमा रहेका तरकारी र पशुपालनका विविध गतिविधि अवलोकन गरेको थियो । छलफलमा कोरियन टोलीमा यु जुङ, योम योङ जु, नाम साङ्गोन, किम जिन क्यो, लिन योङ ताक, गोन योङ गिल र हा लिन हुनुहुन्थ्यो ।