• १६ भदौ २०८१, आइतबार

मानपुर-डेढगाउँ-बुलिङटार सडक कालोपत्र

blog

अमरराज नहर्की

तनहुँ, फागुन २३ गते । ट्रयाक खुलेको २९ वर्षपछि यहाँको सडक कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको रूपमा रहेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको हो । 

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दुरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिको मानपुरबाट खण्डमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँको सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले बताउनुभयो । मिश्रका अनुसार घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक अस्फाल्ट प्रविधिको कालोपत्र हुनेछ । 

वि.सं २०५१ मा ट्रयाक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो । उक्त खण्ड स्तरोन्नतिका लागि वि.सं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सातसय ९३ को लागतमा कालोपत्र सुरु गरिएको कार्यालयले जनाएको छ  । रु ३५ करोड १४ लाख ७४ हजार एकसय नौ रुपियाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीनसय १६ रुपियाँमा कालोपत्रको ठेक्का पाएको थियो । 

यस्तै, उक्त सडकको चौडाइ सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।