• १६ भदौ २०८१, आइतबार

महिला भलिबल : एपीएफ र बागमती फाइनलमा

blog

दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै बागमती र लुम्बिनी प्रदेश । तस्बिर : गोरखापत्र

इमान सिं राना

रामपुर (पाल्पा), फागुन २२ गते । विभागीय टिम एपीएफ र बागमती प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब र बागमती प्रदेश फाइनल खेलमा प्रवेश गरेको हो । 

पहिलो सेमिफाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–६, दोस्रो सेट २५–७ र तेस्रो सेट २५–३ अङ्क सहित सहज जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेलमा बागमतीले पनि लुम्बिनी प्रदेशलाई ३–० को सोझो पराजित गर्न सफल भयो । 

बागमतीले पहिलो सेट २५–१५,  दोस्रो सेट २५–८ र तेस्रो सेट २५–१८ अङ्क सहित जित्न सफल भयो । पहिलो खेलमा एपीएफको सरस्वती चौधरी र दोस्रो खेलमा बागमतीको सुमित्रा रेग्मी वुमेन अफ दि म्याच हुनुभयो ।

फागुन १८ गतेदेखि पाल्पाको रामपुरमा जारी प्रतियोगिताको उपाधिका लागि फाइनल खेलमा एपीएफ र बागमतीले बुधबार प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल अघि दिउँसो १२ बजे तृतीय स्थान छनौटका लागि लुम्बिनी र कोशी बिच प्रतिस्पर्धा हुनेछ । 

फाइनल खेल दिउँसो २ बजे बाट सुरु हुने जिल्ला भलिबल सङ्घ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहले क्रमशः दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।