• १६ भदौ २०८१, आइतबार

व्यास नगरपालिकाको नव प्रवर्द्धन व्यवसायी सम्मेलन

blog

व्यास नगरपालिकाले गरेको व्यवसायी सम्मेलन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, फागुन २२ गते । तनहुँको व्यास नगरपालिकाले उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आयमा वृद्धि गर्न नव प्रवर्द्धन व्यावसायी सम्मेलन गरेको छ । सङ्घीय सरकारको नव प्रवर्द्धनमा आधारित स्थानीय विकास कार्यक्रमको लागि छनोट परेकोले राय, सुझाव र पहिचान गर्नको लागि सम्मेलन गरेको हो । 

कार्यक्रम अन्तर्गत व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गरी पालिकाका बासिन्दाहरूलाई रोजगारीको अवसरमा दिन सम्मेलन गरिएको हो । पालिकामा के कस्ता उद्योग, व्यवसाय सञ्चालन गरी उत्पादन गर्न सकिने भन्ने पहिचान गरी पालिकाको दिगो आर्थिक विकास गर्न सम्मेलन गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । एक करोड रुपियाँसम्मको कार्यक्रमका लागि सङ्घ सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिने छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, "के कुरालाई प्राथमिकता दिनुपर्छ, प्रतिस्पर्धी लाभको क्षेत्रको पहिचान स्वयं व्यवसायीले गरुन् भन्नको लागि सम्मेलन गरेका हौँ ।"

व्यवसाय गर्न उत्प्रेरित व्यक्ति तथा लगानी गर्न इच्छुक व्यक्तिलाई आव्हान नगरपालिकाले गरेको छ । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम अन्तर्गत व्यवसायीको चाहना र लक्ष्यलाई पुरा गर्न सम्मेलन गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा अधिकांशले दुधलाई प्राथमिकता राख्न उपयुक्त हुने बताएका थिए ।

गाई र भैँसी पालन गर्दा दुधका साथ साथै खाद्यान्न तथा फलफूल खेतीलाई मल समेत पूर्ति हुने हुँदा प्राथमिकता दिनुपर्ने माग राखिएको थियो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यास नगरपालिकामा क्षेत्र ग्रामीण रहेकोले कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । बाँदरले नोक्सान नगर्ने, अदुवा, पिँडालु, बेसार लगायतका खेतीलाई प्राथमिकता दिन उपयुक्त हुने मिश्रले बताउनुभयो । व्यास नगरपालिका वडा नम्बर १ कृषक रामचन्द्र पन्थले दुधबाट बिहान र बेलुका गरी एकै दिनमा दुई पटक कृषकले आम्दानी लिन सक्ने हुँदा प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

घाँस खेती यहाँ राम्रो हुने भएकाले दुध नै प्राथमिकता पार्नु पर्ने उहाँको भनाइ छ । सोही वडाका श्रीकृष्ण पन्थले दुध र त्यसपछि बाख्रा पालनलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो। सुन्तला खेतीलाई दुई नम्बरमा प्राथमिकता दिनुपर्ने माग व्यवसायीले गरेका थिए । बजारमा माग धेरै भएपनि नगरपालिका आत्मनिर्भर नभएकोले तरकारीलाई प्राथमिकता दिनुपर्ने सुझाव कतिपयको थियो । 

व्यास नगरपालिका–८ बर्लाचीका कृषक विनोद बगालेले सुन्तला खेती र सो खेतीमा अन्तरवालीको रूपमा अदुवा र बेसार खेती समेत गर्न सकिने सुझाव दिनुभयो । सुन्तला, अदुवा र बेसारको बिक्रीको लागि बजारको समस्या नभएको उहाँको भनाइ छ । 

वडा नम्बर ९ का कृषक राजु आचार्यले बिउँ उत्पादनमा लगानी गर्न आग्रह गर्नुभयो । बिउँ उत्पादनको लागि यहाँको हावापानी राम्रो भएकोले मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । व्यवसाय गर्न इच्छुक व्यक्ती वा समूहले प्रस्ताव पेस गरेपछि मात्र पालिकाबाट सहयोग गर्ने र व्यवसायलाई अगाडी बढाउने नयाँ कार्यक्रम गरिने छ ।  स्थानीय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीय क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आयमा वृद्धि गर्नु, उपलब्ध स्रोत साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानीय आर्थिक विकासमा पहिचान गर्नु कार्यक्रमको मुख्य उद्देश्य छ । 

कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन निजी क्षेत्र, स्थानीय शिक्षालय, गैर सरकारी संस्था, व्यावसायिक प्रतिष्ठित व्यक्ति, उद्योग वाणिज्य सङ्घ बजार इकाई, सहकारी, घरेलु महासङ्घ, पर्यटन व्यवसायी लगायताको सहभागिता सम्मेलनमा गरिएको थियो । नवप्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमबाट पालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गर्ने छन् । 

उत्पादन र उत्पादकत्व वृद्धि गरी बेरोजगारी समस्या उद्यमशीलतामार्फत् समाधान हुनेछ । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि तनहुँका तीन स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका छनौट भएका हुन् । आवेदन दिएका २४२ स्थानीय तहमध्ये कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेका १०४ स्थानीय तहलाई छनौट गरिएको सूचनामा प्रकाशित गरिएको छ ।