• १६ भदौ २०८१, आइतबार

सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन गरिंदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), फागुन २२ गते । कपिलवस्तु नगरपालिकामा सातौँ नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले गर्नुभएको हो ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेयले खेलले खेलाडीहरूलाई नगर, प्रदेश र केन्द्र स्थतरमा पहिचान बनाउन धेरै भूमिका खेल्ने बताउनुभयो । गाउँ गाउँमा रहेको खेलाडीहरूको प्रतिभा एवम् कला देखाउन मेयर कपले ठुलो सहयोग पुग्ने उहाँको भनाइ छ ।

नगर प्रमुख पौडेलले क्रिकेट खेलाडीको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको उहाँको भनाइ छ ।

खेलाडीहरूलाई प्रोत्साहित गर्न नगरपालिकाको १२ वडाका १२ टिमलाई किट्स र जर्सी सहित खेल सामाग्री प्रदान गरिएको खेल सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक दिरेप कुमार चौधरीले बताउनुभयो।  

बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता फागुन २८ गतेसम्म चल्ने छ । प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रममा कपिलवस्तु नगरपालिका १२ वटै वडाका वडाध्यक्षहरू, कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे लगायतको सहभागिता थियो ।