• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप एपिएफ र सुदूरपश्चिमले जिते

blog

कास्की, फागुन २२ गते । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।

सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अङ्कले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बिनीलाई २७–६ अङ्कले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–४ अङ्कले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै लुम्बिनी उपविजेता बनेको छ । साथै कोशीले प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो ।

उपाधिसँगै पुरुष र महिलातर्फका विजेता टिमले क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टोलीले ५०, ४० र ३० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे भने, प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु. ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । साथै, अन्य सहभागी टिमले सान्त्वना पुरस्कारसहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला टिम ६ गरी १५ टिमको सहभागिता थियो ।