• १६ भदौ २०८१, आइतबार

पर्यटकीय गन्तव्य बन्दै कलाघर सिन्धुली

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, फागुन २२ गते । कमलामाई नगरपालिका–३, चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माणाधीन कलाघरको अवलोकनमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

स्थानीयवासीका अनुसार कलाघर घुम्न आउने पर्यटकलाई एकै पोसाकमा सजिएका कलाघर सिन्धुलीका युवतीले पन्चैबाजाले स्वागत गर्छन् । कुनै बेला जातविशेषले मात्र बजाउने पन्चैबाजा पर्यटन प्रवर्धनमा गतिलो माध्यम बनेको छ । 

कलाघर सिन्धुलीले सुरु गरेको पन्चैबाजा संरक्षण अभियानले त्यस क्षेत्रको पहिचानसमेत फराकिलो बनाएको छ । कलाघरमा पुराना, लोपोन्मुख कला संस्कृति, रैथाने सामग्री, परम्परागत कलाले भरिपूर्ण भएपछि त्यहाँ घुम्न आउने पर्यटकको घुइँचो लाग्दै गएको स्थानीय शिक्षक खिलप्रसाद सिग्देल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कलाघरमा आएपछि अहिलेका पुस्ताले पहिलेका पुस्ताले उपभोग गर्दै आएका रैथाने सामग्री, लोपोन्मुख खैँजडी भजनलगायत परम्परागत कला संस्कृति देख्न पाउँछन् ।”

यतिखेर कलाघरमा लोपोन्मुख काठका ठेकी, हर्पे, मदानीलगायत काठ तथा बाँसबाट निर्मित पुराना परम्परागत सामग्री, सिन्धुलीलाई चिनाउने जुनारको आकृति, लालीगुराँस, खुला आकृतिमा पन्चैबाजाका स्तम्भ, पशुपतिनाथको मन्दिर, जानकी मन्दिर, बौद्ध स्तूपा, धरहरालगायत कलासंस्कृतिले भरिपूर्ण बन्दै गएको छ । 

बिपी राजमार्गको सोलाभन्ज्याङबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै पुगिने कलाघरमा जान पक्की सडक बनेकाले घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको अर्का स्थानीय दुर्गा देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार कलाघरका युवतीले गाउँघरमा हुने विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा पन्चैबाजा बजाउन जाने, विभिन्न धार्मिक कार्यमा खैँजडी भजन गाउने तथा नाच्ने र अन्य विभिन्न सांस्कृतिक कार्यव्रmम तथा नाटक प्रदर्शन गर्दै आएका छन् ।