• १३ साउन २०८१, आइतबार

साढे पाँच सय हेक्टर वन अतिक्रमण

blog

बैतडी समाचारदाता

बैतडी, फागुन २२ गते  । डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सबडिभिजन वन कार्यालयमा कर्मचारी नहुँदा बैतडीमा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । ४४ जना कर्मचारीको दरबन्दी रहेको डिभिजन वन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जथाभाबी डोजरले सडक खन्दा ४६६ हेक्टर वन सखाप भएको छ भने सोही सडक किनारमा जथाभाबी घरटहरालगायतका संरचना निर्माण गर्दा ११० हेक्टर गरेर कुल ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । 

अतिक्रमण भएका ठाउँमध्ये गत वर्ष मेलौली नगरपालिकामा २७ वटा घरटहरा हटाएर ३० हेक्टर वन क्षेत्र खाली गरिएको भए पनि कर्मचारी अभावमा अन्य ठाउँको अतिक्रमण हटाउन सकिएको छैन । 

वनका कर्मचारी नहुँदा पञ्चेश्वरमा तीव्र रूपमा वन विनाश भइरहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । वन कार्यालयलाई निरीक्षणका लागि अनुरोध गरे पनि वनका कर्मचारी नआएको उहाँले गुनासो गर्नुभयो । 

“पञ्चेश्वरमा व्यापक रूपमा वन फँडानी भइरहेको छ,” गाउँपालिका अध्यक्ष चन्दले भन्नुभयो, “वन कार्यालयलाई जानकारी दिँदा पनि स्थलगत निरीक्षणका लागि कोही आउँदैनन् । पञ्चेश्वरको कुलाउमा रहेको सबडिभिजन वन कार्यालय मेलौली नगरपालिकामा गाभिएको छ । मेलौलीमा पनि वनका कर्मचारी छैनन् । जिल्ला वनमा जाँदा कर्मचारी भेटिँदैनन् । गुनासो गर्न अब कहाँ जाने ?” 

डिभिजन वन कार्यालयसहित मातहतका सबडिभिजनमा कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । आठ जना वन अधिकृतको दरबन्दी रहेको कार्यालयमा एक जना मात्रै वन अधिकृत रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा रहेको डिभिजन कार्यालयको प्रशासन फाँट, योजना फाँट, व्यवस्थापन र लेखा शाखामै कर्मचारी नहुँदा कार्यालय सञ्चालन गर्न कठिनाइ भएको छ । मातहतका सबडिभिजन वन कार्यालयमा कर्मचारी नहुँदा वन अतिक्रमण हटाउन नसकिएको बताइएको छ ।